
नेपालगञ्ज । नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएका अक्सिजन सिलिण्डर बरामद गरिएको छ ।
सोमबार नेपालगञ्जमा बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा नेपालगञ्जका बिभिन्न स्थानहरुमा मौजदात गरी राखिएका ३८ थान अक्सिजन सिलिण्डर फेला पारेको हो ।
अनुगमन समितिले फेला परेको अक्सिजन सिलिण्डर जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाइएको छ । कोरोनाका बिरामीहरुलाई अक्सिजन अभाव भएपछि प्रशासनले मौजदात राखिएका सिलिण्डर फिर्ता गर्न अनुरोध गरेको थियो ।
यस्तै नेपालगञ्जको खजुरा रोडस्थित शुभ राइस मिलबाट अखाद्य बस्तु फेला पारी नष्ट गरिएको छ । सोमबार बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मिलबाट १६ बोरा चना, १४ बोरा मासको दाल र ४ बोरा मुँगको दाल नष्ट गरेको हो ।
उक्त बस्तु उपभोग्य मिति समाप्त भएकाले खाल्डो खनेर नष्ट गरिएको छ । नष्ट गरिएको सामान करिब १ लाख बराबरको रहेको बजार अनुगमन समितिले जनाएको छ ।





