
गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमितहरुको संख्या तीब्र रुपमा बढेको र मृतकको संख्या बढ्र्द गएकाले बैशाख २० गतेदेखि लागु गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बर्दियाको बैठकले बैंक तथा बित्तीय संस्थाले अत्यावश्यक भनि पुष्टि हुने प्रमाण पेश भएका बाहेकका सेवा प्रवाह स्थगन गर्ने, बिबाह, ब्रतबन्ध र मृत्यु संस्कारका कार्यहरू न्युन व्यक्तिहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण पालना गरी गर्ने, पुर्व निर्धारित समयलाई पुनरावलोकन गर्दै बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र अत्यावश्यक उपभोग्य सामाग्रीहरु खरिद बिक्री गर्ने, अत्यावश्यक उपभोग्य बस्तु, सेवा एवम् सामाग्रीको पसल बाहेक अन्य पसल ब्यवसाय संचालन नगर्ने निर्णय गरेको छ ।
यस्तै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालनालाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहले कडाई गर्ने, जारी निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा संक्रमक रोग ऎन २०२० बमोजिम तत्काल कार्वाही गर्ने निर्णय गरेको हो ।





