
काठमडौँ । एमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ ।
बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारवाही फुवाव गर्ने निर्णय गरेको हो । अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ गते नेताहरुलाई निलम्बन गर्नुभएको थियो ।
पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ । आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने खालको बाटोमा नहिँड्न नेता नेपाल पक्षलाई आह्वान पनि बैठकले गरेको छ ।
बैठकले स्थायी कमिटिको अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो । पार्टीहित विपरीत समान्तर गतिविधि गरेको भन्दै ओलीले चार नेतालाई प्रष्टिकरण सोध्नुभएको थियो ।
पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा नेपाल पक्षले सांसद पदबाट राजीनामा नै दिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्ने दिशामा अघि बढेपछि ओलीले कारवाही फुकुवा गरिदिनुभएको हो ।
राजीनामाबाट रोक्न ओली पक्षीय नेताहरुले नेपालसँग छलफल गरिरहेका बेला कारवाही फुकुवा गरेर वातावरण केही सहज बनाउन खोजेका छन् ।





