
काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको शव दाह संस्कारमा संलग्न कर्मचारीलाई एक हजार भत्ता दिने निर्णय गर्नुभएको छ ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड १९ संक्रमित भएकाको शव दाह संस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता स्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभएको हो ।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भएपनि पशुपति आर्य घाटमा शव दाह संस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।
यस्तै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो । ठूलो दलको सरकारबाट बहुमतको सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिनुभयो ।





