
नेपालगञ्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले नेपालगञ्जस्थित भेरी अस्पतालको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले शनिबार अस्पतालको कोभिड वार्डसहित अस्पतालको अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।
सो क्रममा उहाँले अस्पतालले हालसम्म कोरोनाका बिरामीहरुको उपचारको अवस्था, भएका प्रयासका बारेमा जानकारी लिनुभएको छ । यस्तै कोरोना महामारीले जिल्लामा भएका क्षति र अब हुन सक्ने क्षतिको रोकथाम गर्न मन्त्री श्रेष्ठ समक्ष १० बुंदे ध्यानाकर्षण पत्र पेश गरिएको छ ।
भेरी अस्पताल बिकास समितिले आगामी दिनमा पुनः हुन सक्ने क्षति र सोबाट बच्नका लागि बैज्ञानिक एवंम व्यवहारिक कार्ययोजना बनाएर अगाडी बढ्नका तत्काल गर्नुपर्ने १० वटा कार्यहरुको विवरणसहित मन्त्रीलाई ध्यानाकर्षण पत्र गरिएको हो ।
अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र सदस्य सचिव डा.प्रकाश थापाद्धारा बुझाइएको ध्यानाकर्षण पत्रमा खोपको व्यवस्थापन, प्रयाप्त मात्रामा कन्ट्रयाक्ट ट्रेसिङ्घको व्यवस्था, लक्षण नभएकालाई घरमै तथा स्थानीय तहद्धारा संचालित आइसोलेशनमा व्यवस्थापन, मध्यम र जटिल बिरामीहरुको निः शुल्क उपचारको व्यवस्था, स्वास्थ्य मापदण्डको पालना गर्न गराउन पहल, प्रदेश अन्तर्गतका आइसोलेशन र असपतालहरुको अनुगमन तथा निरिक्षण गर्नुपर्ने, आइसोलेशन तथा अस्पताललाई आवश्यक जनशक्ति, अक्सिजन, स्वास्थ्य उपकरणका साथै औषधीको व्यवस्थापन तत्काल गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई समयमै तलब भत्ता र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, भेरी अस्पतालमा लिक्विड अक्सिजन ट्यांक जडान भइरसकेकाले सोको लागि आवश्यक पर्ने लिक्विड अक्सिजनको आयात सुनिश्चिता गर्नुपर्ने र प्रदेश सरकारबाछ प्रदान गरिउका शव वाहन संचालन गर्न आवश्यक पर्ने जनशक्ति, इन्धन र मर्मत सम्भारका लागि नियमित बजेटको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने माग गरिएको छ ।





