
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० स्थित भृकुटी नगर टोल विकास समितिले भेरी अस्पतालमा बिरामी तथा कुरुवालाई खाना उपलब्ध गराउने अन्जनी माता रसोई (घर) लाई आर्थिक सहयोग प्रदान गरेको छ ।
भेरी अस्पतालमा विरामी र विरामीको आफन्त, जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको रसोई (घर) लाई सोमबार समितिको तर्फवाट टोलवासीले १ लाख ११ हजार नगद सहयोग उपलब्ध गराईएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र समितिका सदस्य सचिव डा.प्रकाश थापाको विशेष उपस्थितिमा टोल विकास समितिकी अध्यक्ष सरला विष्टले हस्तान्तरण गर्नुभएको थियो ।
“मानव सेवा नै धर्म हो भन्दै लिनुभन्दा दिन पाउनु ठुलो कुरा हो” भन्दै गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा भृकुटीनगर टोल बिकास समितिका सचिव धन बहादुर पुन, कोषाध्यक्ष कुलराज भण्डारी, सल्लाहकार पवन कुमार बिष्ट, ज्ञान राज भट्ट, निल बहादुर शाक्य, मीन बहादुर मल्ल, कृष्ण लाल श्रेष्ठ, चन्द्र श्रेष्ठ, जितेन्द्र जोशी, सन्तोस शाह र जीवन शर्माको उपस्थित रहेको थियो ।
सहयोग हस्तान्तरणपछि समितिकी अध्यक्ष बिष्ट र अस्पताल बिकास समिति अध्यक्ष धितालद्धयले सहयोग कार्यका लागि रकम सहयोग गर्ने टोलबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघको बाँकेको एम्बुलेन्स खरिद, रेम्डिसिभिर इन्जेक्सन, ध्वनि खबर कोरोना हेल्पिङ्ग फण्ड, एकल महिला संजाल बाँकेको अण्डा बिरतण अभियानका लागि पाँच पाँच हजार दिने टोल बिकास समितिकी अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।





