बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवा र प्रचण्डको माग

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।

देउवाले शुक्रबार बिहान ट्वीट गर्दै अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भएको भन्नुभएको छ । ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन्,’ देउवाले भन्नुभएको छ ।

यो घटनाको तत्काल छानविन गर्न देउवाले सरकारसँग माग गर्नुभयो । ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भन्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गनुृभएको छ । डाक्टर र नर्समाथि कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रचण्डले उल्लेख गर्नुभयो ।

‘नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ शुक्रबार प्रचण्डले ट्वीट गर्दै भन्नुभएको छ ।, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’

बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४र५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए ।घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो ।उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोट पटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Previous articleदोषीलाई कारवाहीको माग गर्दे भेरीका स्वास्थ्यकर्मीद्धारा आन्दोलन शुरु
Next articleस्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गरिने : मुख्यमन्त्री पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here