
नेपालगञ्ज । बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगन्ज र बैजनाथ गाउँपालिकाका विभिन्न कृषि बिउ बिजन तथा औषधी पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक कृयाकलाप गर्ने दुई वटा पसललाई २५ हजार जरिवाना गरिएको र किसानहरुले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करिब १७ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीहरुको बिउ बिजन नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
यसरी बैजनाथ गाउँपालिका वडा नं ६ सम्झना बजारस्थित रुपाखेती इन्टरप्राइजेज एण्ड सप्लायर्सलाई २० हजार र सिद्ध बाबा एग्रो फर्मलाई ५ हजार जरिवाना गरिएको हो ।
शुक्रबार भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल र सूचना अधिकारी चौलागाईं, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख निना श्रेष्ठ र कर्मचारी दिपा पौडेल, कृषि ज्ञान केन्द्रका अधिकृत सकिल अहमद र दिनेश प्रसाद भट्टराई, बैजनाथ गाउँपालिकाकाको कार्यालयका सन्तोष जिसि लगायतको सहभागिता रहेकोे थियो ।





