
नेपालगन्ज । गेरुवा ग्रामीण जागरण संघले कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एस एन भी नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले आज जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई ६ लाख ९ हजार ९ सय ४८ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
एस एन भी नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत् संचालित ुस्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत् कोभिड-१९ प्रतिकार्यका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मार्फत नेपालगन्जको ६ वटा आइसोलेसन सेन्टर र २० वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले स्वास्थ्य संकटका बेला गेरुवाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । गेरुवाका अध्यक्ष शाहले गत वर्ष पनि कोभिड संकटमा साढे ३ करोड सहयोग गरेको जानकारी दिँदै यसपटक पनि अन्य पालिकाहरुलाई सहयोग जुटाउन लागिरहेको बताउनुभयो ।
सहयोग गरिएका स्वास्थ्य सामग्रीमा सेनीटाइजर ५ सय एमएल १३० पिस, सेनीटाइजर ५ लिटर १३० पिस, ह्याण्ड वास ७५० एमएल २०८ पिस, सर्जिकल मास्क ३ लेयर९५० पिस प्रति बकस० १०४ बक्स, फेस शिल्ड १३० पिस, स्प्रेयर टेंक १६ लिटर २६ पिस, हार्पिक १०४ पिस, चर्पी ब्रस १०४ पिस, पिपिई सेट ३० पिस, लाइफ ब्वाई साबुन २७०४ पिस छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा गैर सरकारी संस्थान महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज वडा नम्बर-१२ का अध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख राम बहादुर चन्द, जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवाली, गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदी, कार्यक्रम संयोजक रामरुप कौशल, गफार अलि शेख लगायतको उपस्थिति थियो ।





