
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा निर्माण गरेको ह्वाईट हाउस आइसोलेशन सेन्टरमा योगा शुरु भएको छ । आइसोलेशन सेन्टरमा रहेका संक्रमितहरुको शरीरको स्फुर्ति बढाउन शुक्रबारदेखि योगा शुरु गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा, सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले उक्त योगा संचालन गरेको छ । योगले मानवलाई स्वास्थ रहन मद्दत पुर्याउने हुनले योग अभ्यास संचालन गरिएको एस डि एफका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।
सेन्टरमा रहेका कालिकोटका लालि प्रसाद आचार्यले यहाँ आएदेखि बिहानको समय त्यत्तिकै जाने गरेको बताउनुभयो । उहाँका अनुसार योगा शुरु भएपछि खाली गइरहेको समय सदुपयोग भएको छ भने योगाले आफ्नै शरीरमा फुर्ति बढेको महशुस भएको छ ।
सेन्टरमा बिहान ५ बजेदेखि योग अभ्यास संचालन हुने गरेको छ । योगालाई योग समिति नेपालका प्रशिक्षकहरु सुनिल भण्डारी र बन्दना शर्माले प्रशिक्षण दिइरहनुभएको छ । योग कक्षाको दैनिक रुपमा अनुगमन समेत गर्ने गरिएको फिल्ड अधिकृत बृजेश ठाकुरले बताउनुभयो ।
योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ । प्रशिक्षक भण्डारीले भन्नुभयो, शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ ।
यस्तै आइसोलेशन सेन्टरमा संस्थाले सूचनामुलक शन्देशसहितको फ्लेक्स बोर्डहरु पनि राखेको छ । हात धुने बिधिहरु बारे योग प्रशिक्षकहरुले सिकाउनुभएको छ भने आइसोलेशन सेन्टरमा बस्दा के के कुराहरुमा सवाधानी अपनाउनुपर्ने र मानसिक रुपमा कसरी स्वाथ्य रहने जस्ता कुराहरुका बारेमा समेत जानकारी गराइएको थियो ।







