
नेपालगन्ज । बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले बढि मुल्यमा अक्सिमिटर बिक्री गर्ने एक औषधी पसललाई रू. २ लाख जरिवाना गरेको छ ।
यस्तै अनुचित व्यापारिक क्रियाकलाप गर्ने अन्य दुईवटा किराना तथा खाद्यान्न पसललाई २०/२० हजारका दरले ४० हजार जरिवाना गरेको छ ।
त्यसैगरी खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार भन्दा बढी मुल्य बराबरको खाद्य सामग्री नष्ट गरिएको अनुगमनमा समेत सहभागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
आज भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धन बहादुर बोहरा र लोकेश गिरि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रेम अर्याल, प्रहरी नायब निरीक्षक शरण भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका प्रभात कुमार ठकुरी लगायतको सहभागिता रहेकोे थियो !





