नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण

राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–९ मा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच निर्माण सम्पन्न भएको उक्त सामुदायिक भवन उद्घाटनपछि हस्तान्तरण गरिएको हो ।
राजापुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष विष्णुप्रसाद थारुले सामुदायिक भवन उद्घाटनपछि वनियापुर गाउँसमाजका बडघर सुरज थारुलाई भवनको साचो हस्तान्तरण गर्नुभयो ।

उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाअध्यक्ष थारुले बहुउपयोगी भवन निर्माण गरिएको बताउँदै गाउँसमाजका बैठक, छलफल लगायतका काममा यसको बृहत्तर प्रयोग हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले समाजका लागि भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गादाता केशव देवकोटा लगायतलाई धन्यबाद समेत दिनुभयो ।
उहाँले भन्नुभयो–‘समाजका लागि आवश्यक भवन निर्माणका लागि जग्गा दान गर्ने दाताप्रति आभार प्रकट गर्दछु । निषेधाज्ञाका कारण उहाँको उपस्थिती हुन सकेन । उहाँलाई पछि सम्मानको कार्यक्रम गर्नेछौं । आगामी दिनमा यस्तै खाले साथ र सहयोगको अपेक्षा गर्छु ।’

वडाअध्यक्ष थारुले अगाडी थप्नुभयो–‘वडाको समन्नुत विकासका लागि वडा कार्यालय तथा जनप्रतिनिधीले मात्र गरेर हुँदैन यसमा आम नागरिकको साथ र सहयोग भए वडाको विकासमा टेवा पुग्छ । त्यो यो भवन निर्माणले पुष्टि गरेको छ ।’

उहाँले भवन निर्माणका लागि सुरुदेखिनै पैरवी गर्दै आएका तथा भवनका लागि जग्गा उपलब्ध गराउनेमा समन्वयकारी भूमिका खेलेका वडा सदस्य एवम वनियाँ गाउँ समाजका सचिव रविन्द्र मल्ललाई समेत आभार प्रकट गर्नुभयो ।

वडा अध्यक्ष थारुले भवन निर्माण सम्पन्न भएपनि रङ्गरोगन र शौचालय निर्माण हुननसकेकोले टोलबस्ती योजनाबाट आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

‘यो हाम्रो सार्वजनिक सम्पत्ति हो । यसको बृहत्तररुपमा प्रयोग हुनेछ ।’ नवनिर्मित सामुदायिक भवनको साचो बुझ्दै बनियापुर गाउँ समाजका बड्घर सुरज थारुले भने समाजमा बैठक बस्दा, कुनै विषयमा छलफल गर्दा समस्या हुने गरेकोमा यो भवनले त्यो समस्या हटाएको छ ।

दश धुर जग्गामा निर्माण भएको २ कोठा र एक हलसहितको भवन निर्माणका लागि राजापुर नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले बजेट प्रदान गरेको थियो ।

वडा कार्यालयबाट प्राप्त २० लाख २० हजार रकम र बाँकी करिब साढे तीन लाख श्रमदानबाट उक्त भवन निर्माण गरिएको वनियाँ गाउँ समाजका सचिव एवम वडा सदस्य रविन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७५ सालदेखि भवन निर्माण सुरु गरि ३ वर्षमा निमार्ण कार्य सम्पन्न गरिएको छ । वडाले पहिलो वर्ष ५ लाख, दोस्रो वर्ष ६ लाख ५० हजार र तेस्रो वर्ष ९ लाख २० हजार बजेट प्रदान गरेको थियो ।

वडा कार्यालयबाट प्रदान गरिएको बजेट बाहेक साढे तीन लाखको श्रमदानबाट भवन निर्माण सम्पन्न भएको छ । वनियापुर सामुदायिक भवन निर्माण समितकी अध्यक्ष सुन्दरी थारुका अनुसार नवनिर्मित भवनमा एउटा कार्यालय प्रयोजनका लागि कोठा, एउटा स्टोर रुम र छलफल, बैठकका लागि हल छ ।

गाँउका आमा समुह, स्वयमसेविका, महिलाका विभिन्न समुह लगायतको बैठक, छलफल तथा विभिन्न कार्यक्रमका लागि यो भवन उपयोगी हुने भवन निर्माण समितिका अध्यक्ष सुन्दरीले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ बस्ने स्वर्गीय टिकाराम देवकोटाको सम्झनामा उनका छोरा केशव देवकोटाले १० धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

Previous articleजिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक, ११ वटा निर्णय
Next articleबाँके बर्दियाका तीन वटा बिद्यालयलाई सूचना प्रबिधिका सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here