
काठमाडौं । कुनै समय नेपालको न्यायालयमा एकछत्र राज गर्नुभएका पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहनुभएको छ ।
२०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि दुई वर्ष न्यायालयको बागडोर शर्माले नै सम्हाल्नुभएको थियो ।
शुरुदेखि आध्यात्मिक चिन्तन बोकेका शर्माले गरेका केही फैसला विवादमा आए पनि उहाँले न्यायालयलाई विवादमा ल्याउने काम भने कहिल्यै पनि गर्नुभएन ।
उहाँले पद र शक्तिलाई महत्व दिनुभएन । यदि दिएको भए उहाँ अवकाश पाउने वित्तिकै वैराग्य चिन्तन बोकेर हिँड्नु हुन्थेन ।
पूर्व प्रधानन्यायाधीशहरूलाई राजनीति गर्न र अन्य व्यापार व्यवसाय गर्न रोक छ । मानवअधिकार आयोगको अध्यक्ष बाहेक अरु नियुक्ति प्रधानन्यायाधीशले खान पाउँदैनन् ।
तर, शर्माले कहिल्यै पनि राजनीतिक नियुक्तिमा आँखा लगाउनुभएन । बरु उहाँ अहिले भारतमा गाई फार्ममा आफ्नो उत्तराद्र्धको जीवन बिताइरहनुभएको छ ।
उहाँका बारेमा नेपालमा धेरैले चासो पनि राखेको देखिन्न । तर, केही दिनयता सामाजिक सञ्जालमा भेटिएका शर्माको सन्यासी जीवनको दृश्यले भने शक्ति र पद केही पनि होइन भन्ने सबैलाई पाठ सिकाएको छ । संकल्पखबर





