डुडुवाका शिक्षकले गाउँपालिकामा बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र

डुडुवा । नेपाल शिक्षक महासंघ डुडुवा गाउँपालिका स्तरिय कमिटीले गाउँपालिकामा विभिन्न ७ बुँदे माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरुको प्रतिनिधिले गाउपालिकाका शिक्षा शाखा अधिकृत संजय कर्णलाई बुझाएका हुन ।

शिक्षकहरुको साझा संगठनको रुपमा रहेको शिक्षक महासंघको नेतृत्वमा गएको समुहले गाउँपालिकाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दा शिक्षा सम्बन्धी प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिदै नेपाल शिक्षक महासंघ डुडुवाले सो माग राखेर ध्यानाकर्षण पत्र बुझाएको महासंघका डुडुवा गाउपालिका अध्यक्ष भुपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

अघि सारिएको मागहरुमा आ व २०७८/०७९ को बजेट अनुसार विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब बद्धिको सुनिश्चितता गरियोस्, कोरोनाका कारण शिक्षकहरु प्रताडित भएकोले तत्काल शिक्षक र विद्यालय कर्मचारीहरुका लागि खोपको व्यवस्था मिलाईयोस्,पालिका भित्रका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक नियुक्तिमा शिक्षा ऐन र नियमावली अनुसार विद्यालयमा मौजुदा बरिष्ठतम् शिक्षकहरूबाट तत्काल प्रधानाध्यापक नियुक्तिका लागि व्यवस्था मिलाउनुपर्ने रहेका छन् ।

यसैगरी पालिका भित्रका बाल विकास शिक्षकहरुको त्रैमासिक तलब निकासा नियमित रुपमा नभएकोले यसलाई अन्य शिक्षकहरु सरह नियमित तलब निकाशा गरिनुपर्ने, पालिका भित्र कार्यरत शिक्षक तथा कार्यरत कर्मचारीहरुलाई त्यहाँ शिक्षा शाखाका केही कर्मचारीहरुबाट गरिएको अशिष्ट, अमर्यादित, अशोभनिय व्यवहारप्रति शिक्षक महासंघ आपत्ति व्यक्त गर्दै यस्ता निन्दनीय कार्य तत्काल बन्द गरिनुपर्ने, अनुदानमा कार्यरत शिक्षकहरुलाई अन्य शिक्षक सरह तलब भुत्तmानको व्यवस्था मिलाउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन एक शिक्षक एक ल्याप टप कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने मागहरु छन् ।

सो ध्यानाकर्षण पत्र शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मी, शिक्षक संघका मो.हुसेन खाँ, नेपाल राष्ट्रिय शिक्षक संगठनका ईस्राईल खाँ, अखिल नेपाल शिक्षक संगठनका खेम शर्मा, बाल विकास शिक्षक संर्घष समितिका विष्णुमाया न्यौपाने र नेपाल शिक्षक कर्मचारी परिषदका जाकेश सोनकरले हस्ताक्षर गरेर बुझाउनुभएको छ ।

Previous articleऔषधी व्यवसायी संघ बाँकेद्धारा रक्तदान
Next articleहिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here