
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत वजेट पारित भएको छ । असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गर्नुभएको एक अर्ब ५४ करोड ७७ लाख रुपियाँको प्रस्तावित वजेट आईतबारको नगरसभाले पारित गरेको हो ।
वजेट पारित भएपछि मेयर डा.धवलशम्शेर राणाले चार वर्षको अवधीमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधी र कर्मचारीहरुको साथ र सहयोगले मात्रै सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले नेपालगञ्जमा भ्रष्टाचार करिब निर्मुल पारिएको भन्दै मिलेर काम गर्ने अवस्थाले राम्रो काम गर्न सकेको बताउनुभयो ।
नगरसभाले विभिन्न प्रस्ताव पनि पारित गरेको छ । कन्या कलेज संचालनका लागि विनियमावली नगरसभाले पारित गरेको छ । फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकुद एकेडेमी निर्माणका लागि नगरसभाले प्रस्ताव पारित गरेको छ ।
सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा उपमहानगरपालिकाले प्रस्ताव पारित गरेको हो । नगरसभाले कर्मचारीहरुको बृत्ति विकास लगायतका आवश्यक निर्णय पनि पारित गरेको छ ।
नगरसभामा सुशासन समितिका संयोजक नरवहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । नगरसभाले एडिबीको थप परियोजनाका लागि आग्रह गर्ने निर्णय गरेको छ ।
नगरसभामा उत्कृष्ट कार्य सम्पादन गर्ने युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गोर्खवहादुर थापा, योजना प्रमुख वज्रभुषण झा, जिन्सी शाखा प्रमुख विमल गुरुङ, जनस्वास्थ्य निरिक्षक विनोद विक, लेखा शाखाका दुर्गा पौडेल, सुभास थापा लगायतका कर्मचारीहरुलाई मेयर डा. राणा र प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले सम्मान गर्नुभयो ।
सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो ।





