
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ का युवाहरुका लागि मानव बेचबिखन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार समाजको साझा समस्या रहेकाले सबैको नियन्त्रणका लागि सबैको सक्रियता जरुरी भएको भन्दै युवाहरुको भूमिका बारे शनिबार अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
“हाम्रो आवाज : चेलबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नारासहित बाँकेमा विभिन्न संघ संस्थाले लामो समयदेखि काम गरिरहेका छन् । सीमा क्षेत्र हुने यस्ता गतिविधिका विरुद्धमा माइती नेपाल नेपालगन्ज, बाँकेले लामो समयदेखि काम गर्दै आएको छ ।
माइती नेपाल नेपालगन्ज, बाँकेको आयोजना र समाज सेवा संस्था नेपाल कोहलपुरको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले मानव बेचबिखनमा यहाँको प्रमुख समस्याका बिषयमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले विभिन्न बहानामा दक्षिणी छिमेकीदेखि तेस्रो मुलुकमा नेपालीहरु बेच्ने क्रम बढेको बताउनुभयो । मानव बेचबिखन तथा ओसार पसारमा सबैभन्दा बढी युवाहरु परेको भन्दै उहाँले यसका विरुद्ध युवाहरु नै सक्रिय हुनुपर्ने बताउनुभयो ।
यो समस्या समाधानका लागि सबै सरोकारवाला निकायहरुको सहयोग आवश्यक छ । ‘यो अहिलेको साझा समस्या हो । संयोजक कोइरालाले भन्नुभयो, यस विरुद्ध शसक्त अभियान सञ्चालन गर्नुपर्छ । यसमा युवाहरुको भूमिका अहम छ ।’
समाज सेवाका अध्यक्ष विनोद थापाले साझा समस्याका रुपमा रहेको मानव बेचबिखन विरुद्ध सबैको साझा प्रतिबद्धता र सक्रियता आवश्यक रहेको बताउनुभयो । अध्यक्ष थापाले संस्थाहरुले लामो समयदेखि काम गरिरहेको भन्दै सरकारले पनि यस्ता विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समाज सेवा संस्थाले पनि समाजमा हुने गरेको यस्ता समस्या समाधानका लागि विभिन्न तवरमा जनचेतना मुलक कार्यक्रम गरिरहेको पनि अध्यक्ष थापाले जानकारी गराउनुभयो ।
सहभागी युवा दिनेश थापाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानका लागि युवालाई सचेत गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बेरोजगारी तथा विभिन्न कुलतका कारण युवा पुस्तामा नराम्रो काममा फस्दै गएको पनि बताउनुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १४ का वडा सदस्य मन बहादुर गुरुङले स्थानीय सरकारले पनि यस्ता कार्यमा सक्रियपूर्वक काम गरिरहेको बताउनुभएको थियो । अभिमुखिकरणमा ५० जना युवाहरूको सहभागिता रहेको थियो ।





