
बाँके । नेपालगञ्जकी सरिता कुमारी तेलीलाई वैवाहिक जीवनको शुरुवातमा घर व्यवहार चलाउन समस्या भयो । केही किन्ने मन हुँदा धेरै पटक सोच्नुपथ्र्यो, या भनौ पैसाको अभाव खडकिन्थ्यो ।
कहिलेकाहीँ त घर व्यवहारकै बारेमा सोच्दा किन्न मन लागेको सामान पनि नकिन्ने निर्णयमा पुग्थिन । चलिरहेको भोगाई छिटै अन्त्य होला भनेर उनले सोचेकी पनि थिइनन् ।
तर भोगिरहेको समस्याबाट कसरी छुटकारा पाउने ? त्यसका लागि के गर्न सकिएला भनेर उनको मानसपटलमा घोचिरहन्थ्यो ।
नेपालगञ्ज वडा नं–१२ बेलासपुरकी २१ वर्षीया सरिताले जीवनलाई बदल्न संघर्ष गर्नुपर्ने र जीवन यापानका क्रममा चाहिने सामान्य कुरा पनि पुर्ति गर्नका लागि आफ्नो पाईला अघि सारिन ।

सो क्रममा उनले नेपालगञ्जमै संचालन हुन लागेको (लेभल एक) सिलाई कटाई तालिममा सहभागिता जनाईन । श्रीमानको कमाईले परिवार चलाउन गाह्रो भएको अवस्थामा आफुले पनि केही उद्यम गर्नुपर्छ र आवश्यकता परिपुर्तिलाई सहज बनाउन पर्छ भनेर टोलमै सिलाई कटाईको काम पनि शुरु गरिन् ।
रंङरोगनको काम गरिरहेका उनका श्रीमानलाई उनले गरेको कामले केही सहज होला भन्ने लाग्यो र उनले पनि श्रीमतीले गरेको काममा कुनै किसिमको बाधा अवरोध जनाएनन ।
परिवार चलाउन पहिल्यैदेखि नै गाह्रो भइरहेकाले पनि श्रीमतीले शुरु गरेको काममा समस्या राख्ने काम आफ्ना श्रीमानले नगरेको सरिता बताउँछिन् । शुरु गरेको कामको केही समयमै सिलाई कटाईमा अझ बढि दक्षता हासिल गर्न एडभान्स तालिम लिने अवसर पाइन र सहभागि भइन । यो क्रममा उनले उद्यम गर्ने भनेर आफ्नै टोलमा एउटा कोठा भाडामा लिईसकेकी थिइन ।
तालिममा सहभागि भएपछि सिलाई कटाईका लागि चाहिने आवश्यक सामानको जोहो कसरी गर्ने सोंचिरहेकै क्रममा उनलाई तालिम दिने संस्था सामाजिक बिकास मञ्च बाँकेले सिलाई र इन्टरलक मेसिन, आइरन र काउन्टर सहयोग प्रदान ग¥यो ।
उनले गरिरहेको उद्यमबाट ११ जनाको परिवार रहेको सरितालाई अहिले श्रीमानसंगै आफुले पनि केही आर्थिक जोहो गर्न सहज बनाएको छ । उनले चार वर्षीय छोराका लागि बचत गर्दै आएकी छन् भने भविष्यका लागि छोराको जीवन बिमा समेत गरिदिएकी छन् ।

उनले बढाएको पाइला अघि बढेसंगै उनले पहिले भोगिरहेको समस्या बिस्तारै समाधान हुँदै छन् । अहिले उनी खुशी पनि छिन् । सिलाई कटाईसंगै पसलमा उनले कास्मेटिक तथा किरानाका सामान समेत राखेकी छन् ।
उनले गरेको मेहनत र गर्ने अठोट देखेर संस्थाले कास्मेटिकका सामान पनि उनलाई सहयोग प्रदान ग¥यो । यसपछि त आफुलाई उद्यम चलाउन झनै सजिलो भएको उनी बताउँछिन् ।
बिहानै पाँच नै पसल खोल्ने गरेकी छ्, मेहनति सरिता भन्छिन्, राखिएको सामान बिक्रीका लागि सबेरै पसल खोल्नुपर्छ । उनले गरेको उद्यमबाट मासिक १५ देखि २० हजारको कारोबार हुने गरेको छ ।





