
बाँके । कोरोना भाइरसको महामारी नियन्त्रणमा दत्तचित्त भएर काम गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतलाई सम्मानित हुनुभएको छ ।
उपमहानगरपालिकाको मंगलबार सम्पन्न भएको नगरसभाले स्वास्थ्य क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको भन्दै नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उपमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले संयुक्तरुपमा दोसल्ला तथा सम्मान पत्रले बस्नेतलाई सम्मानित गर्नुभएको हो ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रसेवक कर्मचारीको रुपमा रही कर्तव्यनिष्ठ रहेर दिइएको जिम्मवारी सफलता पुर्वक निभएको हुँदा जनस्वास्थ्य निरिक्षक बस्नेतलाई सम्मानित गरिएको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।
जनस्वास्थ्य निरिक्षक बस्नेतलाई उपमहानगरपालिकाले कोरोना भाइरसको महामारी शुरु भएदेखि हालसम्मको अवस्थामा नेपालगञ्ज क्वारेन्टिनको जिम्मेवारी दिएको थियो ।
सो क्रममा उहाँले सबै कर्मचारी तथा क्वारेन्टिनमा बस्ने सबै सर्वसाधारणहरुसंग असल व्यवहार प्रस्तुत गरेकाले सबैसंगको सम्बन्ध राम्रो बनेको थियो ।
बिपतको समयमा आफुले पाएको जिम्मेवारीको मुल्याँकन गर्दै प्रदान गरिएको सम्मानले जस्तो सुकै महामारीका बेला थप सक्रिय बन्न प्रेरित गरेको जनस्वास्थ्य निरिक्षक बस्नेतले बताउनुभयो ।
उपमहानगरपालिकाले बस्नेतसंगै कोभिड–१९ मा महत्वपूर्ण योगदान गर्ने उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावत, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, महिला विकास अधिकृत मञ्जु पाण्डे, सरसफाई शाखा प्रमुख अशोक केसी, सहायक ५ औं रामकुमार पौडेल, नगर प्रहरी हवल्दार पवन कुमार कनौजिया, नगर प्रहरी चन्द्र राना र सवारी चालक भुपति ढकाललाई पनि सम्मान गरिएको छ ।
त्यस्तै उपमहानगरपालिका स्तरीय अपांगता सञ्जाल, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना, भेरी अस्पतालका मेसु डा.प्रकाश थापा, साईनिङ अस्पतालका सवारी चालक आशिष रानामगरलाई सम्मान गरिएको छ ।





