
नेपालगञ्ज । असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले आफ्नो जन्मदिनमा असल शासन किरण प्रतिभा पुरस्कार स्थापना गर्नुभएको छ ।
उक्त पुरस्कारबाट हरेक बर्ष साउन २६ गते बाँकेलाई कर्मथलो बनाई कार्यरत एक जना पत्रकार, साहित्यकार, लेखकलाई ११ हजार १ सय ११ नगद रासीसहित असल शासन किरण प्रतिभा पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारको व्यवस्थापन असल शासन मिडियाले गर्नेछ । पुरस्कारका स्थापनाका लागि कार्कीले १ लाख ५० हजारको पुरस्कार कोष स्थापना गर्नुभएको हो ।
पुरस्कार स्थापना घोषणा कार्यक्रममा प्रबन्ध निर्देशक कार्कीले १ लाख ५० हजारको चेक असल शासन मिडियालाई उपलब्ध गराउनुभयो । प्रबन्ध निर्देशक कार्कीले असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलाई सो चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष समेत रहेका उद्यमी कार्कीले आफ्नो जन्मदिनमा असल कार्य गर्ने प्रतिभालाई सम्मान गर्नका लागि पुरस्कार स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले मिडिया सञ्चारको बिकाससँगै सामाजिक कार्य गर्न अग्रसर भएको उल्लेख गर्दै मिडियाको संयोजनमा पुरस्कार स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, गैसस महासंघ नेपाल बाँकेका सचिव आशिष बर्मा, बासका उपाध्यक्ष लुना बुढाथोकी, जनसम्पर्क बिभाग प्रमुख कमल शाही, निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।





