
नेपालगञ्ज । नेपालगञ्ज–१७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति गठन विषयमा सो गुठीको नयाँ कार्यसमिति निर्माणबारे सञ्चालक निजाम ईद्रिसीले आफु लगायत समाजमा कुनै जानकारी नै नभएको बताउनुभएको छ ।
उहाँले लामो समयदेखि आफ्नो पूर्खाले नीजि गुठीको रुपमा दर्ता गरी सार्वजनिक हितको रुपमा प्रयोग गर्दै आएको सहादत मस्जिद गुठी इदगाह र कर्वलाको व्यवस्थापन समिति वडा अध्यक्ष अजयकुमार पाठकको रोहवरमा केही व्यक्तिहरुलाई वोलाई गठन गरी राजनैतिक पूर्वाग्रह अनुरुप गरिएको कार्य प्राति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।
उहाँले वडा अध्यक्ष पाठकले कुन उद्देश्य र प्रयोजनका लागि सो नयाँ कार्यसमिति निर्माण गरे आफुहरुलाई कुनै पनि जानकारी नभएको बताउनुभयो। उहाँले आफुहरुले सो गुठी मार्फत विभिन्न सामाजिक कार्य समेत गर्दै आएको दाबी समेत गर्नुभयो ।
आफुले सो सम्बन्धी सूचना बाहिर जानकारीमा आएलगत्तै वडा नं १७ बाट रितपूूर्वक सूचना माग गर्दा वडा सचिव अभिमन्यु त्रिपाठीले सो विषयमा कुनै पनि सूचना वा जानकारी वडामा नभएको दरपिठ गरी दिएको बताउनुभयो ।
उहाँले सो गुठी आफ्नो पुर्खाले सामाजिक हितको लागि प्रयोगमा ल्याउने गरी नीजि गुठीमा दर्ता गरी प्रचलनमा ल्याएको आफुसंग प्रमाण रहेको बताउनुभयो ।
उहाँले वडामा रहेका सबै अनुयायी प्रति आफुहरु सधै उदार रहेको र सबैको भावनालाई सम्मान गर्दै सामाजिक सहिष्णुता कायम गर्न तत्पर रहेको अवस्थामा सामाजिक तथा धार्मिक खलल पुग्ने कार्य कतैबाट हुन नहुने पनि बताउनुभयो ।
उहाँले वडा अध्यक्ष पाठकलाई समाजमा बितृष्णा हुने र सामाजिक सद्भावमा खलल पुग्ने कार्य नगर्न पनि चेतावनी दिनुभयो ।





