
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिनुभएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।
बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गर्नुभएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
उहाँले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्नुभएको छ ।
चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ भने अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।





