
बाँके । जिल्लाका आइशोलेशनमा रहेका कोरोना संक्रमितहरुको संख्या दिन दिनै घट्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समय आइशोलेशनमा राखिएका कोरोना संक्रमितको अवस्था सामान्य हुँदै गएसंगै घर फर्किनेहरुको संख्या पनि धेरै पुगेको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आइशोलेशनमा रहेका संक्रमितहरुमा संक्रमणको अवस्था शुन्यमा पुग्दै घर र्फिता हुने क्रम निरन्तर चलिरहेकाले पनि जिल्लाका बिभिन्न आइशोलेशन खाली हुँदै गएको बताउनुभयो ।
यसै क्रममा बुधबार नौ जना व्यक्तिहरु घर फर्किन लागेका छन् । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका सात जना र बर्दियाका दुई जना गरी नौ जना घर फर्किन लागेका हुन् ।
यसरी डिस्चार्ज हुनेहरुमा शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेशनमा रहेका खजुरा गाउँपालिका वडा नं–१ का ३० वर्षीय पुरुष, आइशोलेशन सेन्टर आदर्शनगरमा रहेका खजुराका २ का एक ३६ वर्षीया, खजुरा ६ का एक २५ वर्षीया र ४ वर्षीया बालिका, आइशोलेशन सेन्टर पिपरीमा रहेका कोहलपुर २ का २३ वर्षीया महिला, ९ वर्षीय बालक र ३९ वर्षीय पुरुष छन् ।
यस्तै शुशिला कोइराला आइशोलेशनमा रहेका बारबर्दिया वडा नं–८ का १९ वर्षीया महिला र गेरुवा गाउँपालिका वडा न–४ का ५१ वर्षीया महिला छन् ।
जिल्लामा अब १२ जना कोरोना संक्रमित मात्र बिभिन्न आइशोलेशनमा रहेका छन् । बुधबार बिहानसम्म बाँकेमा देखिएका ३७५ जना बिरामीमध्ये हालसम्म ३६१ जना डिस्र्चाज भइ घर फर्किसकेका छन् । भने दुई जनाको ज्यान गएको छ ।






