
नेपालगञ्ज । भवन निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको भन्दै विवादमा आएको प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्राले निर्माण सम्बन्धिको सम्पूर्ण बिवरण सार्वजनिक गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिले आइतबार निर्माणधिन बिद्यालय भवनमा पत्रकार तथा सरोकारवालाबीच आइतबार भवन निर्माणदेखि निर्माण हुन लागेको सम्पूर्ण संरचनाको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको आर्थिक विवरण अनुसार प्रस्तावित ठाउँमा भवन निर्मााणका लागि दुई वटा भवन निर्माणाधिन रहेको र प्रति भवन निर्माण गर्न ३६ लाख तथा दुई वटा शौचालय निर्माण गर्न प्रति शौचालय निर्माणका लागि सात लाख दरले संघीय सरकारबाट रकम प्राप्त भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य ओम प्रकाश श्रीवास्तवका अनुसार प्रस्तुत विवरणमा भवन एक निर्माणका लागि संघीय सरकारको रकमसंगै जनसहभागितातर्फ दुई लाख ९८ हजार सात सय ३२ गरी ३८ लाख ९८ हजार सात सय ३२ रहेको छ । त्यसैगरी भवन दुई निर्माणका लागि पनि सोही अनुसार गरी जम्मा जनसहभागितासंगै ३८ लाख ९८ हजार सात सय ३२ रहेको छ ।
यस्तै शौचालय निर्माणमा १४ लाखसंगै जनसहभागितातर्फ ६९ हजार आठ सय १७ गरी जम्मा १४ लाख ६९ हजार आठ सय १७ रहेको रहेको समितिका सदस्य श्रीवास्तवले जानकारी दिनुभयो ।
यसैगरी बिद्यालय निर्माणधिन जग्गा खाल्डोमा भएको अवस्थामा माटो पटान लगायतका कार्य गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन लाख २५ हजार र जनसहभागितातर्फ १८ हजार ७८ रुपैया रहेको विवरणमा उल्लेख छ ।
भवन निर्माण लगायतका निर्माणमा सहयोग गर्ने बिभिन्न निकाय अन्र्तगत नेपालगञ्ज उपमहानगरपालिकाबाट भवन एक तर्फ ३५ लाख ४४ हजार नौ सय ४३ रुपैया, भवन दुई तर्फ ३५ लाख १४ हजार दुई सय ३८ रुपैया, शौचालयतर्फ १३ लाख ५३ हजार ९ सय २६ र माटो पटानतर्फ दुई लाख ७४ हजार नौ सय रुपैया गरी ८६ लाख ८८ हजार सात रुपैया रकम निकासा भएको विवरणमा उल्लेख छ ।
यस्तै भवन निर्माणका क्रममा भवन एक तर्फ ३६ लाख ४६ हजार नौ सय ४३ रुपैया, भवन दुई तर्फ ३६ लाख २० हजार नौ सय ४० रुपैया, शौचालय निर्माणतर्फ १३ लाख ५३ हजार नौ सय २६ रुपैया र माटो पटानतर्फ दुई लाख ९१ हजार नौ सय गरी जम्मा ८९ लाख १३ हजार सात सय ९ रुपैया खर्च भएको बिद्यालय व्यवस्थापन समितिले प्रस्तुत गरेको विवरणमार्फत जनाइएको छ ।
यसैगरी जम्मा खर्च भएको रकममा बिद्यालयको तर्फबाट भवन निर्माणका लागि एक लाख ४० हजार सात सय दुई रुपैया र माटाो पटान कार्यका लागि १७ हजार गरी एक लाख ५७ हजार सात सय २ रुपैया समाबेश गरिएको र बिद्यालय व्यवस्थापन समिति र समुदायिक सहयोगबाट ६८ हजार बराबरको नगद तथा निर्माण सामाग्री सहयोग भएको समितिका सदस्य श्रीवास्तवले जानकारी दिनुभयो ।
निर्माण कार्यमा कमसल सामाग्रीको प्रयोग गरिएको प्रश्नमा समितिले निर्माण कार्यमा प्रयोग हुने सामाग्रीहरु सटीमेट अनुसार प्राविधिकको निर्देशन बमोजिम प्रयोग भएको तथा यस सम्बन्धमा मिति २०७८ जेष्ठ १७ गते सडक डिभिजन नेपालगञ्जबाट गुणस्तरको ल्याब परीक्षण भइ प्रमाणिकरण गरिएको समितिले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको अध्यक्षतामा गरिएको सार्वजनिकीकरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तव, जग्गा दाता संस्थाका अध्यक्ष माधबराम वर्मा, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खडका, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डांगी, नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिक भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बांकेको स्थानिय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी विशेष रुपले जग्गादाता माधवराम वर्मा, ओम प्रकाश श्रीवास्तवबिच करिब दुई वर्षदेखिको सकारात्मक वार्ताको परिणामस्वरुप केही शर्तसहित बिद्यालयको नयाँ भवन निर्माणका लागि करिब सात करोड मूल्य बराबरको जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको पनि जानकारी गराइएको छ ।
तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोद्धारा फुल्टेक्रा गाउँमा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि संवत २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको नामले विद्यालयको स्थापना भएको थियो । सो अवसरमा जग्गादाता वर्मालाई सम्मान समेत गरिएको छ ।







