सुँगुर फार्मबाट शुरु भएको कारखाना बन्यो १३ अर्ब डलरको साम्राज्य

काठमाडौं । जाङ कङयुआन हालै ताइवानका सबभन्दा धनी व्यक्ति घोषित हुनुभएको छ । अर्बपतिहरूको सम्पत्ति लेखाजोखा राख्ने ब्लुमबर्ग बिलेनियर्स सूचकांकले जाङको सम्पत्ति आकलन गरी उनलाई ताइवानकै धनाढ्य घोषित गरेको हो ।

ब्लुमबर्गका अनुसार उहाँको सम्पत्ति १३ अर्ब अमेरिकी डलर ९करिब २० खर्ब रूपैयाँ० भन्दा बढी छ ।

जेफ बेजोस, बिल गेट्स, एलन मस्क, मार्क जुकरवर्ग, वारेन वफेट लगायत संसारकै धनी रहिसकेका व्यक्तिहरूका माझमा जाङको नाम र जीवन त्यति चर्चित छैन । तर उहाँको व्यावसायिक यात्राको कथा रोचक छ ।

जाङ चीनमा रहेको हुवाली इन्डस्ट्रियल ग्रुपका संस्थापक हुनुहुन्छ । ताइवानमा जन्मेनुभएका उहाँ जुत्ताको व्यवसाय गर्नुहुन्छ । ती जुत्ता जसको हामीमध्ये धेरैले नाम सुनिसकेका छौं, लगाइसकेका छौं ।

हुवालीले आफ्ना कारखानाबाट बहुराष्ट्रिय कम्पनीहरू नाइक, कन्भर्स, पुमा एजी, युजिजी र भ्यान्स लगायत विश्व चर्चित ब्रान्डका जुत्ताहरू बनाउँदै आएको छ । उसका यी कारखानाबाट सबभन्दा धेरै उत्पादन हुने भनेको नाइक, भ्यान्स र कन्भर्स जुत्ता हो, हरेक वर्ष १८ करोड जोडीभन्दा बढी छ ।

जाङको कम्पनी हुवालीको गत अप्रिलमा सेयर भाउ एक्कासि आकासिएको थियो । १६२ प्रतिशतले सेयर बढ्दा उहाँको सम्पत्ति पनि ह्वात्तै बढ्यो । हुवालीमा उहाँ र परिवारको गरी ८७ प्रतिशतभन्दा बढी सेयर छ ।

यसअघि ताइवानका धनाढ्य आइफोन बनाउने फक्सकन टेक्नोलोजीका टेरी गोउ थिए । अहिले जाङ आफ्ना जुत्ताहरूबाट छलाङ मार्दै नम्बर एक हुन सफल हुनुभएको हो ।

जाङको सफलताले बहुराष्ट्रिय कम्पनीहरूसँग ठेक्कापट्टामा काम गर्ने ताइवानी उत्पादकहरूले कसरी अथाह सम्पत्ति कमाउन सक्नुभएको छ भन्ने अर्को बलियो उदाहरण दिएको अर्थ विश्लेषकहरूले बताएका छन् ।

‘हुवाली कम्पनीको कारोबार र भविष्य राम्रो देखिन्छ,’ सांघाइस्थित इन्डस्ट्रियल सेक्युरिटिजका विश्लेषक जाओ शूलीले भन्नुभएको छ । हुवालीलाई नाइक जुत्ताको अझै धेरै अर्डर आउन सक्ने आकलन पनि उहाँको छ ।

अहिले यति ठूलो फड्को मारेका जाङले सुरूआती दिनमा भने सानो कदमबाट काम थाल्नुभएको थियो । ७३ वर्षीय जाङ सन् १९४८ मा ताइवानको किसान परिवारमा जन्मनुभयो । कृषि कलेजबाट ग्राजुएट सकेपछि उहाँ महिलाका जुत्ता बनाउने कारखानामा काम गर्न थाल्नुभयो । यहीँबाट उहाँको जीवनले अर्कै मोड लियो ।

अर्काकोमा काम गरे पनि उहाँ सधैं आफ्नै काम गर्न चाहनुहुन्थयो । उहाँले उक्त जुत्ता कारखानामा काम सिके र कमाएको पैसा जम्मा गर्दै जानुभयो । उहाँ आफ्नै कारखाना खोल्न चाहनुहुन्थ्यो ।

तीन दशकअघि उनको सपनाले यथार्थको बाटो देख्यो ।

उहाँ जुत्ता उत्पादन गर्ने आफ्नै कारखाना खोल्न तयार हुनुभयो । तर सहरी क्षेत्रमा खोल्न आर्थिक हैसियतले भ्याउनुभएन । त्यसैले उहाँले पश्चिमी ताइवानको खेतीपाती हुने जमिन नजिकै रहेको सुँगुर फार्मलाई आफ्नो कारखाना बनाउनुभयो ।

उहाँले एकान्त खेतका बीचमा खोलेको कारखानाबारे त्यहाँका स्थानीय बासिन्दालाई पनि जानकारी थिएन । न उहाँको कारखानामा बाहिरको कुनै चहलपहल सुनिन्थ्यो । उहाँ गुणस्तरीय जुत्ता बनाउनमा मात्र केन्द्रित हुनुभयो ।

‘म सानो गाउँमा हुर्किएको हुँ र सानो कम्पनी चलाइरहेको थिएँ,’ चाङ सुङ युआन भनेर पनि चिनिने जाङले ताइवानको अखबार बिजनेस विक्लीलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, ‘समय बित्दै जाँदा मैले सबै ध्यान र मेहनत जुत्तामै लगाएँ ।’

लगनसाथ गरेको कामले सफलता किन दिन्थेन र१ सुँगुर फार्मबाट सुरू भएको उहाँको व्यापार उक्लिन थाल्यो ।

सन् १९८० दशकसम्म आइपुग्दा जाङ र केही साझेदारहरूले ताइवान र दक्षिणी चीनको गुवानडङमा थुप्रै शाखा कारखानाहरू खोले ।

पछि सन् १९९० मा उहाँले हङकङका केही साझेदारसँग मिलेर लियाङजिङ इन्डस्ट्रियल स्थापना गर्नुभयो । सन् १९९५ मा लियाङजिङ हङकङमा पब्लिक कम्पनीमा रूपान्तरण भयो । पछि यही कम्पनीको नाम सिम्फोनी होल्डिङ्स रह्यो ।

जाङ बजारबारे एक सिद्धान्तमा विश्वास गर्नुहुन्थयो- रै नाफा तर तीव्र आम्दानी ।

उहाँले अपनाएको यो सिद्धान्त उनको व्यवसायमा कामयाब देखिएको छ । जाङले सन् २००४ मा हङकङ नजिकैको चिनियाँ सहर जोङशानमा हुवाली स्थापना गर्नुभयो । बजार र समय अनुसार चलायमान हुन पनि पोख्त हुनुहुन्छ जाङ । अप्ठ्यारा समयमा नयाँ व्यवसायको अवसर देख्न सक्ने मान्छे हुनुहुन्छ उहाँ ।

चीनमा श्रमिकको पारिश्रमिक बढ्दै गएका बेला उहाँले आफ्नो खुबी प्रयोग गर्नुभयो । तुरून्तै उहाँले भियतनाम र अरू दक्षिणपूर्वी एसियाली क्षेत्रमा आफ्ना कारखाना विस्तार गर्नुभयो । ती क्षेत्रमा चीनको तुलनामा श्रमिक खर्च कम लाग्थ्यो ।

त्यही बेलादेखि उहाँले हुवालीको कामलाई तीव्र बनाउनुभएको हो । सन् २०१४ मा उहाँले सिम्फोनीको निर्देशकको पद छाड्नुभयो । यसको केही समयपछि नै उहाँ र उहाँको परिवारले हुवाली विस्तार गर्न भनेर सिम्फोनीका सबै सेयर बेच्नुभयो । अहिले सिम्फोनीमा उहाँहरूको सम्पत्ति छैन ।

हुवालीको भने चीनसँगै भियतनाम, म्यान्मा र द डोमिनिक रिपब्लिकमा कारखाना विस्तार भइसक्यो । यी कारखानामा बनेका नाइक, कन्भर्स, पुमा एजी, युजिजी र भ्यान्स ब्रान्डका जुत्ताहरू संसारभर पुग्छन् ।

पछिल्लो दुई वर्षयता संसारभर कोरोनाले आर्थिक कारोबारमा असर पारेको छ । तर जाङको व्यवसायलाई यसले छोएन । उहाँको एकधूनले काम गर्ने शैलीका कारण कम्पनीले अरूजस्तो घाटा त परै जाओस्, उल्टो धेरै नाफा कमाएको विश्लेषकहरू बताउँछन् ।

‘सन् २०२० मा संसारभरको बजार कोरोना महामारीका कारण सुस्त भयो । हुवालीले भने आफ्नो स्थिर क्षमता र पानीजहाजबाट सामान पठाउने काम जारी राख्न सक्यो,’ विश्लेषक जाओले भन्नुभयो, ‘फेरि हुवालीका कारखाना विश्वभर छरिएका छन् र त्यसको बजार ठूलो छ । त्यसले पनि हुवालीले समकालीन उद्योगका तुलनामा धेरै नाफा कमाउन मद्दत पुर्‍याएको छ।’

त्यस्तै संसारभर बजार स्थापना गरिसकेका बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यमा काम गर्ने हुवालीको उत्पादन लागत पनि समकालीन कम्पनीका तुलनामा कम छ । यसले पनि उसलाई धेरै नाफा कमाउन सघाएको विश्लेषकहरू बताउँछन् ।

गत वर्ष हुवालीको राजस्व २।१ अर्ब अमेरिकी डलर थियो । सन् २०२० को अन्त्यसम्म उसका संसारभर २१ वटा कारखाना थिए । त्यो बेला उसको आम्दानी अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढेको थियो ।

सन् २०२१ अप्रिलसम्म आइपुग्दा हुवाली सेन्जेन स्टक बजारमा १८ अर्ब अमेरिकी डलरभन्दा बढीको कम्पनी भएको थियो । त्योसँगै जोङशान सहरमा एक खर्ब युआनभन्दा बढी सम्पत्ति हुने पहिलो कम्पनी पनि हुवाली बन्यो ।

तर यी सबै छलाङले आफ्नो जीवनमा कुनै परिवर्तन नल्याउने जाङले बताउनुभएको छ । उहाँले अन्तर्वार्तामा भन्नुभएको छ, ‘म एकदमै बोरिङ मान्छे हुँ । म जे काममा पोख्त छु, त्यही गरेर बसिरहन्छु ।’

जाङ चुपचाप आफ्नो काममा लागिरहे पनि उहाँले जुत्ताको राजाु का रूपमा पहिचान बनाइसक्नुभएको छ । (साउथ चाइना मर्निङ पोस्ट, ब्लुमबर्ग लगायत सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको) साभार : सेतोपाटीबाट

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments