
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रिस्तानको जग्गा साँघुरो भएपछि मुस्लिम अगुवा तथा व्यापारीबाट चन्दा संकलन गरेर करिब थप ६/७ कट्ठा जग्गा खरिद गरियो । अहिले कब्रिस्तानको करिब २६ कत्ठा जग्गा छ । यही कव्रिस्तानमा मुस्लिम समुदायको मृत्युपछि अन्तिम संस्कार गर्ने गरिन्छ ।
कोरोना भाइरस महामारीमा यो ठाउँमा दैनिक ८/१० जनाको सदगद गर्ने गरिएको थियो । जसका कारण यहाँ लासमाथि लास गाड्नु पर्ने अवस्था सिर्जना भयो । भाइरस संक्रमणको महामारी अझै हटेको छैन् ।
यसैपनि कव्रिस्तानलाई जग्गा अपुग भइरहेका बेला कव्रिस्तान संचालक समितिले भने त्यही जग्गा अतिक्रमण गरेर सटर निर्माण सुरु गरेपछि स्थानीय मुस्लिम समुदाय रुष्ट बनेका छन् ।
कव्रिस्तानको आफ्नै ६२ वटा सटर छन् । ती सटरबाट एउटाको मासिक १ हजार ५ सय रुपैयाँ भाडा उठ्ने गरेको छ । तर बर्षौदेखि त्यहाँबाट उठ्ने भाडावाफतको रकम कहाँ छ रु कसैलाई थाहा छैन् ।
यहाँसम्म की जग्गा खरिदका लागि मुस्लिम अगुवाहरुले लाखौं रुपैयाँ सहयोग गरे । करिव ९० लाखमा जग्गा किनिएको भनिएपनि कति रकम उठ्यो रु कति खर्च भयो अहिलेसम्म संचालक समितिले सार्वजनिक नगरेको स्थानीयहरु बताउँछन् ।
समितिकै नातागोताले सटर भाडामा लिएका छन् । उनीहरुले सटर भाडा नदिएको गुनासो छ । समितिले मनोमानी गर्दै गएका कारण आफुहरु समिति विरुद्ध बोल्नु परेको स्थानीयको भनाइ छ ।
सटर भाडाको पैसा उठ्दैन भने ति सटरहरु भत्काएर कव्रिस्तान विस्तार गरिनुपर्ने मुस्लिम समुदायबाट आवाज उठ्न थालेको छ । समितिले पारदर्शीरुपमा काम गर्नुको साटो आर्थिक चलखेल गर्दै इस्लाम धर्मको बर्खिलाप गरेको मुस्लिम अगुवाहरु बताउँछन् ।
कव्रिस्तान संचालक समितिको अध्यक्षमा याकुव अन्सारी हुनुहन्छ । ६/७ वर्षदेखि समितिले बैठक बस्न सकेको छैन् । न हिसाव किताव सार्वजनिक भएको छ । स्थानीय अगुवाहरु भन्छन्–‘भ्रष्ट समिति तत्काल फेर्नुपर्छ ।’





