बाँकेमा रसायनिक मल अभाव, किसान चिन्तित

फाईल तस्बिर

बाँके । बाँकेमा रसायनिक मलको अभाव देखिएको छ । मल लिनका लागि किसानहरु सहकारी लगायत सम्बन्धित ठाउँहरुमा धाइरहेका छन् । मल कहिले पाउने भनेर टुङो नहुँदा किसाहरु चिन्तित बनेका छन् ।

बाँकेको खजुरा गाउँपालिका वडा नं–६ उढरापुरका किसानले मल बिक्री गर्ने सहकारी धाउँदा–धाउँदा हैरान भएका छन् । एक सातादेखि सहकारी धाउँदा पनि मल कहिले पाउने भन्ने यकिन नहुँदा समस्या भएको स्थानीय किसान सियाराम पथिकले बताउनुभयो ।

मल पाउने सहकारी लगायतका ठाउँहरु धाउन लागेको एक साता भयो, किसान पथिकले भन्नुभयो, मल कहिले पाइन्छ, पाइदैन निश्चित छैन ।

बाँकेमा सबैतिर रोपाई सकिएको छ । रोपाई सकिएपछि मल चाहिन्छ । तर जिल्लामा रसायनिक मल बिक्री बितरण गर्ने जिम्मा पाएका निकायमा समेत मल नहुँदा किसानले पाउन नसकेको बताउँछन् ।

समयमै खेतबारीमा मल हालियो भने उत्पादन बढ्छ्, डुडुवा गाउँपालिका वडा न–३ हलबलडोलीका किसान पप्पु खाँले भन्नुभयो, चाहिएकै बेला मल छैन, अनि किसानको उत्पादन कसरी बढ्छ त ?

उता कृषि ज्ञान केन्द्र बाँकेले यसपटक समयमै रोपाई सकिएकाले उत्पादन बढ्ने बताउँदै आएको छ । तर उत्पादन बृद्धिमा सहयोग गर्ने मलकै अभाव देखिएको छ ।

धान उत्पादन गर्न प्रयोग गरिने युरिया मलको अभाव भएपछि किसान उत्पादन घट्ने भन्दै चिन्तित छन् ।

आर्थिक वर्ष २०७६/७७ का लागि चाहिले मल उपलब्ध नहुँदा अभाव सिर्जना भएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार यो वर्षका लागि डिएपी मल पुगेको भएपनि युरिया मलको आवश्यकता अझै छ । उत्पादन बृद्धिका लागि मलको आवश्यकता पुर्ति गर्नमा सरकार सक्रिय हुनुपर्छ, संघका अध्यक्ष सुबेदीले भन्नुभयो, तर मलको अभाव सिर्जना हुँदा समेत सरकारले समयमा मलको व्यवस्था गर्न सकेको छैन, यो हालतमा कसरी उत्पादनमा बृद्धि हुन्छ ।

बिगतका वर्षमा कृषकले नेपालमा मल नपाएको अवस्थामा भारतीय सीमा क्षेत्रमा पुगेर पनि मल ल्याएर खेतबारीको आवश्यकता पुरा गर्ने गरेको भएपनि यो पटक भने भारत जानसक्ने सहज वातावरण नभएकाले छिटोभन्दा छिटो मल व्यवस्थापन गर्नुपर्छ । तर जिल्लामा साउन २० पछि मात्रै मल आइपुग्ने सम्बन्धित कार्यालयले बताएको छ ।

बाँकेमा अझै तीन हजार टन युरिया मलको आवश्यकता छ । जिल्लामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मल बिक्री गर्ने जिम्मा पाएका हुन ।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । नेपाल मलमा पूर्णतः परनिर्भर छ ।

Previous articleसाउने संक्रान्तिको उल्लास र त्यो बालापन
Next articleबर्दियामा १८७ जना घर फर्किए, आइशोलेशनमा अब १३ जना मात्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here