
नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्तको ९३ औं जन्म जयन्ती मनाइएको छ ।
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले आइतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाइएको हो । सो अवसरमा गुप्तको तस्बिरमा माल्यार्पण समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले चाचाजीको त्याग र लगन अहिलेको पत्रकारिता गर्न शुरु गरेकाहरुले बुझ्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं पुर्व मेयर तथा ‘चाचाजी’का छोरा विजयकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्जकी उपमेयर उमा थापा मगर, प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, गैसस अध्यक्ष नमस्कार शाहले पन्नालाल चाचाजीले सञ्चालन गरेको किरण साप्ताहिकलाई पुनः सञ्चालनमा ल्याउन आफुहरूबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
‘चाचाजी’ को पत्रकारिता क्षेत्रमा योगदान मात्र नभएर परिवारका लागि पनि उत्तिकै संघर्ष गरेको कार्यक्रममा चर्चा गरिएको थियो । पत्रकारिता क्षेत्रमा चाचाजीले निकै लामो ईतिहास रचेको, दैनिक कार्य सञ्चालन लगायतका विषयमा चर्चा गरिएको थियो ।
त्यस्तै सोही कार्यक्रममा पूर्व अध्यक्षद्वय झलक गैरे, रुद्र सुवेदी, लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, अवधी प्रत्रकार संघका राकेश मिश्र, लगायतले ‘चाचाजी’ संगको अनुभव र पत्रकारिता प्रतिको उहाँको योगदानको बारेमा चर्चा गर्नुभयो ।





