
जानकी । बाँकेको जानकी गाउँपालिका जिल्लाकै पहिलो बाल विवाह मुक्त पालिका घोषणा गरिएको छ ।
मंगलबार गाउँपालिकाले एक समारोहकाबीच भब्यरुपमा पालिकालाई जिल्लाकै पहिलो वाल विवाह मुक्त पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा पालिकालाई बाल विवाहमुक्त पालिका घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै समन्वय समितिको संयोजक श्रीवास्तवले जिल्लाका लागि यो ठुलो उपलब्धी भएको बताउनुभयो । उहाँले जिल्लाका आठ स्थानीय तहहरुमध्ये जानकीले लक्ष्यभित्रै पालिकालाई घोषणा गर्न सफल भएको बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष धितालले पालिकालाई अथक प्रयासपछि बाल विवाह मुक्त घोषणा गर्न सफल भएको भन्दै सम्पूर्ण पालिकाबासीलाई धन्यावद दिनुभयो ।
साथै उहाँले पालिकालाई बाल विवाहमुक्त घोषणा गर्नका लागि बाल विवाह रोकथाम परियोजना संचालन गरेको सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल)लाई बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।
घोषणा समारोहका अवसरमा पालिकामा बाल विवाह मुक्त बनाउनका लागि सहयोग गर्ने व्यक्ति तथा संघ सस्थाहरुलाई सम्मान पत्रले कदर प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले बिगतका वर्षदेखि बाल विवाह रोकथाम परियोजना संचालन गर्दै आएको परियोजनाका प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।
परियोजनामार्फत स्थानीय सरोकारवालाहरुलाई कार्यबिधि निर्माणदेखि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।





