वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

नेपालगन्ज । वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ । रेग्मीको ७५ औँ जन्मदिनका अवसरमा बाँकेका आठ वटा साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित ‘सनत रेग्मीः अमृतोत्सव’ कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो ।

बाँकेका सबै साहित्यिक संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो । रेग्मीलाई त्रिभुवन विश्वविद्यालयका नेपाली भाषाका प्रा.डा.खगेन्द्र लुईंटेलले सबै साहित्यिक संस्थाहरुका तर्फबाट संयुक्त अभिनन्दन पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा.डा.लुईंटेलले रेग्मीको कृतित्व र व्यक्तित्वको कारणले नै व्यस्त कार्यतालिकाका बिच आफू नेपालगन्ज आएको बताउनुभयो ।

रेग्मीले नेपाली कथा लेखनका माध्यमबाट नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको र प्रज्ञा प्रतिष्ठानमा रहँदा नेपाली भाषाको संरक्षण अभियानलाई पनि सहयोग गरेको लुईँटेलले बताउनुभयो ।

रेग्मीको कथाकारिता मुलतः तराईली परिवेश र तराईको आन्चलिकतामा केन्द्रित रहेपनि उहाँलाई आन्चलिक कथाकार मात्रै भन्नु उपयुक्त नहुने धारणा उहाँले राख्नुभयो । नेपाली कथा साहित्यको एक मानक कथाकार नै रेग्मीको असली पहिचान भएको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रा.डा.लुईटेलले रेग्मीका चुनिएका कथाहरुको संग्रह ‘सनत ७५ः सनत रेग्मीमा रोजा कथा’ संग्रहको पनि विमोचन गर्नुभयो । उक्त कृतिमा रेग्मीमा ७५ वटा कथाहरु संग्रहित छन् । जसमध्ये ५७ वटा यसअघि प्रकाशित कथा संग्रहमा समावेश भइसकेका र बाँकी फुटकररुपमा प्रकाशित एवं अप्रकाशित कथाहरु रहेका छन् ।

रेग्मीका यसअघि लछमनियाको गौना लगायत ९ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । रेग्मीको कथा संग्रहका साथै साहित्यकार सृजन लम्सालको निबन्ध संग्रह ‘मृत्यु अधिकार’ पनि कार्यक्रममै विमोचन गरिएको छ । कार्यक्रममा समालोचक लेकप्रसाद प्याकुरेलले सनत रेग्मीको कृतित्व र व्यक्तित्वका विषयमा चर्चा गर्नुभयो ।यस्तै, सोही समारोहमा बाँकेका विशिष्ट १० स्रष्टाहरुलाई दीर्घ साधना सम्मान पनि गरिएको छ । अभिनन्दनसहित बाँकेका ७० वर्ष माथिका १० जना स्रष्टालाई दीर्घ साधना सम्मान गरिएको हो ।

साहित्य, कला लगायत विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएका कृष्णजंग शाह, बबु्रवाहन सिंह, आशाराम मौर्य, सच्चिदानन्द चौवे, अब्दुल लतिफ शौक, भुपेन्द्र प्रकाश शर्मा, सृजन लम्साल, गणेश जीसी, विष्णुलाल कुमाल र दिवाकर शर्मालाई दीर्घ साधना सम्मान गरिएको छ ।

साहित्यकार खगेन्द्र गिरी कोपिला र ईन्द्र भण्डारी ईन्द्रेणीले सम्मानित भएका १० स्रष्टाका बारेमा प्रकाश पार्दै सम्मानित स्रष्टाहरुले नेपालगन्जको साहित्यकलाको विकासमा दिएको योगादनको थप कदर हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगर, लेखक नरेन्द्रजंग पिटर, समाजसेवी अजित कुमार शर्मा लगायतले सम्मानित श्र्रष्टाहरु एवं रेग्मीको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोईराला, पूर्व सभापति युवराज शर्मा, बाँके र बर्दियाका विशिष्ट साहित्यकार एवं स्रष्टाहरुको सहभागिता रहेको थियो ।

भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रम बाँकेका प्रमुख साहित्यिक संस्थाहरु भेरी साहित्य समाज केन्द्रीय समिति, मध्यपश्चिम स्रष्टा समाज, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी प्रदेश, सर्वदा साहित्य संगम, कल्पना फाउण्डेशन नेपाल र प्रतिभा साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेको थियो ।

Previous articleडुडुवामा आईतवारदेखि विद्यालय खोल्ने तयारी
Next articleगेरुवा र स्याक नेपालका कर्मचारीका लागि क्षमता बिकास तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here