
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित हिरमिनियामा बिहीबार निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।
स्वास्थ्य चौकी हिरमिनियाको प्रांगणमा उक्त आँखा शिविर सम्पन्न भएको हो । शिविरमार्फत १४६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ३६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
पहिलो चरणको बृहत निःशुल्क आँखा शिविर कारागार कार्यालय नेपालगंजबाट प्रारम्भ भई बाल सुधार गृह अस्मानपुर र मिति २०७८ भाद्र २३ गतेदेखि असोज ७ गते सम्म नेपालगंज उपमहानगरपालिकाको २३ वटै वडामा संचालन भएको हो ।
शिविरमार्फत ३५७६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ७२६ जनाको निस्शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
रिफर गरिएका मध्ये २०७८ असोज ६ गते सम्म ३३० जनाको शल्यक्रिया भइसकेको छ भने ३९६ जनाको शल्यक्रिया गर्न बांकी छ र शल्यक्रिया कालागि बिरामीहरूको आउने क्रम जारी रहेको छ ।
उक्त निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा सञ्चालन भएको हो ।
अर्को चरणको बृहत निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रुइत फाउन्डेसनको संयुक्त सहकार्यमा मिति २०७८ असोज ११ गते देखि १४ गतेसम्म बर्दियाको बारबर्दिया नगरपालिकाको सबै वडाहरूलाई समेट्ने गरि ८ स्थानमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशल कुमार बर्माले जानकारी दिनुभयो ।







