
काठमाडौं । मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३३ किलो सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ।
असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजबाट कानुन व्यवसायीका तर्फबाट बहस हुने विराटनगर उच्च अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताउनुभयो ।
मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उहाँको भनाइ छ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो ।
मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर साढे ३३ किलो सुन काठमाडौं ल्याइपु¥याएपछि गायब बनाइएको थियो ।
अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो ।
उक्त प्रकरणमा ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन् ।





