मुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला

पर्वत । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज ५ मा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरे अनुसार आइतबारदेखि खुला गरिएको हो ।

अन्य जिल्लामा जस्तै मुस्ताङमा पनि संक्रमणको जोखिम कम हुँदै गएकाले अन्य जिल्लामा जस्तै मुस्ताङको धार्मिक क्षेत्र पनि खुला गरिएको जनाइएको छ ।

‘अहिले सोह्र श्राद्धको बेला पनि रहेको छ । यो बेलामा मुस्ताङ आएर दिवंगत आफन्तलाई पिण्ड दान गर्ने तथा मुक्तिनाथ दर्शन गर्नेहरूको मुख्य बेला पनि हो‚’ उहाँले भन्नुभयो, ‘जोखिम कम हुँदै गएकाले आजदेखि पूजाआजाका लागि मन्दिर खुला गरिएको छ ।’

मन्दिर खुला भए पनि पूजाआजाका क्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरिएको हुनुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।

त्यसमा पनि स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकामध्ये कुनै एक प्रमाण र विदेशीका लागि पछिल्लो सात दिनभित्रको पिसिआर रिपोर्ट देखाएर मात्रै मन्दिरमा प्रवेश गर्न पाउने निर्णय गरिएको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर गत वैशाखदेखि बन्द गरिएको थियो । गत भदौमा निषेधाज्ञाको अन्त्य गरिएपछि पर्यटकहरूको चहलपहल बिस्तारै बढ्दै गएकोमा मुस्ताङको प्रमुख आकर्षणहरूमध्येको एक मुक्तिनाथ मन्दिर पनि खुला भएपछि बन्द रहेको पर्यटन व्यवसाय सुधारिने बाटोमा जाने कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

Previous articleरुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत
Next articleनेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here