
बाँके । नेपालगञ्ज नगरभित्रका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेसिन जडान गरिएको छ ।
महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन) जडान गरेको हो ।
आईतबार नेपालगञ्जस्थित सरस्वती मावि र छात्रा मावि सल्यानीबाग बिद्यालयमा जडान गरिएको मेसिनलाई नेपालगञ्जकी उपमेयर उमा थापा मगरले उद्घाटन गर्नुभयो ।
छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने उहाँले बताउनुभयो । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उहाँको भनाई छ ।
महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
बाँकेमा सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ ।
सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र बर्नवाल, प्राचार्य सुरेशकुमार परसैला, शिक्षिक कोपिला अधिकारी, मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जयसवाल, परामर्शदाता किरण आचार्य लगायतले भेन्डिङ्ग मेसिनले विद्यालयमा छात्राहरुको निरन्तरतालाई सहयोग पुग्ने बताउनुभयो ।





