
नेपालगञ्ज । बाँकेमा घटेको दुई घट्नाको सत्य तथ्य छानबीनको माग गर्दै राजधानी काठमाण्डौको पैदल यात्रामा शुरु भएको आन्दोलन मुग्लिन पुगेको छ ।
नन्कुन्नी धोबीको रहस्यम मृत्यु र निर्मला कुर्मीको वास्तविक अवस्था पत्ता लगाउनका लागि लामो समय बाँकेमा आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि मृतकका परिवारसहितका व्यक्तिहरु पैदल नै काठमाडौं यात्रामा निस्किएका हुन् ।
उनीहरुले यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत भेटेर न्यायका लागि पहल गरिदिन समेत माग गरिसकेका छन् ।
अधिकारकर्मी रुबी खानको नेतृत्वमा रहेको टोली आइतबार मुग्लिन पुगेको हो । अधिकारकर्मीले बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारवाहीको माग पनि गर्दै आएका छन् ।
बाँकेका प्रहरी अधिकारीले भने प्राप्त प्रमाणका आधारमा अनुसन्धान र कारवाही गरेको बताउँदै आएको छ ।
स्थानीय स्तरमा न्याय नपाइएपछि राजधानी काठमाण्डौंसम्म न्याय माग गर्दै पैदल यात्रा शुरु गरेको व्यक्तिहरुको यात्राका क्रममा थुप्रै बाधा र कष्ट भोग्न परेको छ । तर पनि न्यायको माग गर्दै आन्दोलनरतहरु निरन्तर अभियान जारी राखेका छन् ।





