
नेपालगञ्ज । महिला अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरिएको छ ।
माइतीघर मण्डलामा नौं दिनदेखि आमरण अनसनरत उहाँलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।
बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका थिए ।
काडमाडौं पुगेलगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुट्नुभएकी उहाँले आमरण अनसनलाई जारी राख्नुभयो ।
सास फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्रा कम भएपछि उहाँलाई अस्पताल लगिएको हो । अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताउनुभयो ।





