
नेपालगञ्ज । नेपालगञ्जमा कोभिड १९ जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
जिल्लाका बाल तथा युवा क्लबका पदाधिकारी सदस्य लक्षित गरी नेपालगञ्जमा उक्त कार्यशाला संचालन गरिएको थियो । आइतबार एक कार्यक्रमबीच उक्त कार्यशाला सम्पन्न भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको साझेदारीको सहयोगमा सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेले जोखिम संचार र सामुदाय संलग्नता परियोजना अन्तर्गत कार्यशाला संचालन गरेको थियो ।
आइतबार कार्यशाला समापनका क्रममा बोल्दै एस डि एफका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले कार्यशालाले जीवन निर्वाहमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले सहभागिहरु बाल बालिका तथा युवा भएकाले यो चरणमा सिकेका कुराहरुले भोलिका दिनमा भविष्य निर्माणमा यसले ठुलै मद्दत पुग्ने धारणा राख्नुभयो ।
उहाँले यस्ता तालिम, गोष्ठी कार्यक्रमले केही न केही जानकारी प्रदान गर्ने र यो कार्यशालाले पक्कैपनि भएका नकारात्मक बुझाईलाई स्पष्ट पारेको हुनुपर्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनका क्रममा बोल्दै नगरस्तरीय बाल क्लब संजालका निवर्तमान अध्यक्ष अंकित मिश्राले कार्यशालामार्फत कोरोनाबिरुद्धको भ्याक्सिनका बारेमा धेरै कुराहरु जानकारी भएको प्रतिक्रिया दिनुभयो ।
यस्तै जिल्ला बाल क्लब संजाल बाँकेकी उपाध्यक्ष चेतना क्षेत्रीले कोरोना महामारीका क्रममा भएका डर त्रास जस्ता कुराहरु भ्याक्सिन आएपछि केही कम भएपनि यो कार्यशालाले भ्याक्सिनप्रतिको धारणामा पनि सहज बनाएको बताउनुभयो ।
यस्तै बाल अधिकारकर्मी साहिल अन्सारीले कार्यशालाले धेरै कुरा सिकाएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले समाजको नकारात्मक दृष्टिकोण परिवर्तन गर्ने धारणा राख्नुभयो ।
नेपालगञ्जमा उपमहानगरपालिकाका युवा क्लब, बाल क्लबमा आबद्ध किशोर किशोरी युवाहरुको सहभागिता रहेको कार्यशालामार्फत कोभिड १९ खोप सम्बन्धी रहेको डर र हिचकिचाहट पत्ता लगाई खोप्रति आम सर्वसाधारण समुदायको बिद्यमान गलत धारणामा परिवर्त गर्ने र खोप कार्यक्रममा जनसमुदायको सहभागितामा बृद्धि गराउने उद्देश्य ले आयोजना गएिको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो ।
यस्तै कार्यशालालाई सहयोगी संस्था सेभ द चिल्ड्रेनका आयुष जोशी श्रेष्ठ र अमिक पौडेलले सहजीकरण गर्नुभएको परियोजनाका सिनियर सुपरभाईजर सहजराम यादवले बताउनुभयो ।





