
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामै दोस्रो वडाका रुपमा वडा नं ७ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।
पालिकाको दोस्रो वडाका रुपमा बिहीबार एक औपचारिक कार्यक्रमकाबीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडालाई गाउँपालिका उपाध्यक्ष घनीकुमारी खत्री, वडा अध्यक्ष राम लखन थारुले संयुक्त रुपमा वडालाई घोषणा गर्नुभयो । यसअघि राप्तीसोनारी गाउँपालिकाको वडा नं ३ लाई यसअघि नै घोषणा गरिसकिएको छ ।
यो संगै बाँकेको २० वटा वडा बाल विवाह मुक्त घोषणा भइसकेका छन् । जिल्लामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्थानीय पालिकाको समन्वयमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाल विवाह मुक्त अभियान नै संचालन गरेको छ ।
स्याक नेपालका बाल विवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाका अनुसार जिल्लाको योसहित २० वटा वडाहरुलाई बाल विवाह मुक्त घोषणा गरिएको छ ।






