किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीलाई तालिम

नेपालगञ्ज । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न थालिएको छ ।

बर्दियाका बिभिन्न स्थानीय तहमा रहेका पालिकाहरुबाट प्रदान हुँदै आएको सेवालाई किशोर किशोरीमैत्री बनाउँदै थप प्रभावकारी बनाउन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न लागिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहयोगमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशले बर्दियाका चार पालिकाका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीका लागि पाँच दिने किशोर किशोरी तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाँच दिने तालिम संचालन गरिएको छ ।नेपालगञ्जस्थित भेरी अस्पताल नेपालगञ्जको तालिम केन्द्रमा संचालन गरिएको तालिमको उद्घाटन शत्रमा बोल्दै भेरी अस्पताल नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले देशमा २५ प्रतिशत किशोर किशोरीको संख्या रहेको र अझै यो संख्याले सहजरुपमा स्वास्थ्य प्ररामर्श नपाएको अवस्था रहेको हुँदा स्वास्थ्यकर्मीले जहिले पनि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने कुरामा बिशेष ध्यान दिनुपर्ने उद्देश्य लिनुपर्ने बताउनुभयो ।

सरकारले किशोर किशोरीलाई सेवा प्रवाहमा अझै वेवास्ता गरिरहेको अवस्था रहेकाले स्वास्थ्यकर्मीले आफ्नो व्यवहारमा आमुल परिवर्तन ल्याउन आवश्यक रहेको र यो तालिमले उक्त व्यवहार निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

यस्तै गेरुवाका अध्यक्ष कृष्णजंग शाहले यो तालिमले फिल्डमा काम गर्दा झनै सहयोगी हुने बताउनुभयो । उहाँले जीवनमा तालिमहरु धेरै लिने गरिएको भएपनि केही तालिमहरुले आफ्नो र काम गर्ने स्थानका लागि महत्वपूर्ण हुने जस्तै यो तालिम सावित हुने बताउनुभयो ।भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड डा.खगेन्द्र जंग शाहले स्वास्थ्यकर्मीका नाताले एउटा स्वास्थ्यकर्मीले सेवामा कुनै प्रकार कन्जुस्याई गर्न नुहुने बताउनुभयो । सेवा प्रदानमा अझै हामी आफै कहाँ चुकेका छौं, सो कुरालाई पनि पत्ता लगाउनुपर्ने डा.शाहले बताउनुभयो ।

स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको मनोभावनालाई स्वास्थ्यकर्मीले बुझ्न सक्नुपर्ने र सेवाग्राहीले भन्न चाहने कुरा खुलेर भन्न सक्ने वातावरण समेत स्वास्थ्यकर्मीले निर्माण गर्नुपर्ने बताउनुभयो ।

किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारीलाई समेत बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । तालिमलाई डा. संकेत रिसाल, डा.बद्री चापागाई, भेरी अस्पतालकी नर्सिङ्ग प्रशासक श्रेष्ठ, नर्सिङ्ग अधिकृत शिला शर्मा, बरिष्ठ अस्पताल नर्सिङ्ग निरिक्षक शारदा कुमारी चौधरी, अस्पताल नर्सिङ्ग निरिक्षक भारता शार्मा, रुम कुमारी थनेत र बसुन्धरा ज्ञवालीले सहजीकरण गर्नुहुने जनाइएको छ ।

गेरुवाद्धारा बर्दियामा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना अन्तर्गत सो तालिम प्रदेशको नेतृत्वमा भएको गेरुवाका परियोजना संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ वर्षसम्म संचालन हुने परियोजना अवधिभरमा यस्तै किसिमको तालिम ६ वटा व्याचमा तालिम संचालन गरेर स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री बनाउन ९६ जना स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गरिनेछ ।

Previous articleराप्तीसोनारी गाउँपालिका वडा नं ७ बाल विवाह मुक्त वडा घोषणा
Next articleफेसबुकको नाम अब ‘मेटा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here