
गुलरिया । बर्दिया जिल्लामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित परियोजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।
बिभिन्न संस्थााहरुद्धारा बर्दियाको बिभिन्न पालिकामा कार्यान्वयनमा रहेका परियोजनाहरुको शनिबार समाज कल्याण परिषदले आफ्ना प्रतिनिधिमार्फत स्थलगत अनुगमन गरेको हो ।
परिषदका प्रतिनिधिहरुले बर्दियाको ठाकुरबाबा नगरपालिकामा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र बारबर्दिया नगरपालिकामा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा संचालनमा रहेको दुई वटा परियोजनाको स्थलगत अनुगमन गरेर परियोजनाको गतिबिधिबारे जानकारी लिएका छन् ।
स्याकद्धारा संचालनमा रहेको सिकाई परियोजना कार्यान्वयनमा रहेको ठाकुरबाबा नगरपालिकाको वडा नं ३ स्थित श्री हिमालय आधारभूत बिद्यालयमा पुगेर भएका गतिबिधि तथा अवस्थाबारे जानकारी लिन सरोकारवालासंग छलफल समेत गरिएको छ ।
सो बिद्यालयमा प्लानको सहयोगमा स्याकमार्फत ३ कोठे पक्की भवन निर्माण भएको छ । साथै सिकाई परियोजनामार्फत नै शैक्षिक गुणस्तरका लागि बिभिन्न गतिबिधि संचालन भएका छन् ।
समाज कल्याण परिषदका प्रतिनिधिहरुले परियोजनाको उपलब्धी, दिगोपना नियमित रुपमा समन्वय र सहकार्यका बिषयमा छलफल गरेका छन् । सो क्रममा परियोजना कार्यान्वयन पश्चात क्षमता अभिबृद्धि भएको, कक्षा शिक्षणमा सहजता आएको, लैंङ्गिकमैत्री शिक्षण कार्य सहज भएको, प्रभावकारी सिकाईका लागि आवश्यक बसाई व्यवस्थापन सहज भएको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
यस्तै परियोजनापछि नै बिद्यालयमा अभिभावकको सक्रियता समेत बढेको देखिएको छ । नीजि बिद्यालयमा पढ्ने बालबालिकाहरु अहिले आफुहरुको बिद्यालयमा भर्ना भएको र अभिभावकले आफ्ना बालबालिकाहरुलाई बिद्यालयसम्म पुर्याउन र लैजान आउने गरेको कुराले अभिभावकको सक्रियता बढेको शिक्षकहरुको भनाई छ ।
यसैगरी ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले प्लानमार्फत संचालन परियोजनासंग समन्वय सहकार्य निरन्तर भइरहेको बताउनुभयो । उहाँले पालिकाभित्र संचालन हुने हरेक क्रियाकलाप तथा गतिबिधिका लागि परियोजनाले समन्वय गरिरहेको र आफुहरुको उपस्थिति पनि नियमित हुने गरेको बताउनुभयो ।
पालिकाले तयार गरेको १० वर्षे गुरु योजनाहरु अनुसार नै यस पालिकामा बिभिन्न संघसंस्थाहरुको कार्यक्रमहरु हुने गरेको साथै कार्यक्रमहरुको प्रभाव तथा सक्रियताले सामुदायिक बिद्यालयको सबैभन्दा ठुलो चुनौती बिचमै बिद्यालय छाड्ने र उपस्थिति कम हुने कुरामा कमि आएको स्पष्ट पार्नुभयो ।
अनुगमनका क्रममा बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको स्याक नेपालको सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै गेरुवा ग्रामीण जागरण संघमार्फत बर्दियाकै बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालय बेलभारमा संचालित मौनता तोडौं युवाको अगुवाइमा महिनावारी ब्यवस्थापन परियोजनाको समेत स्थलगत अनुगमन तथा निरिक्षण गरिएको छ ।
उक्त बिद्यालयमा संचालित परियोजना अन्तर्गत संचालन भएको र संचालनमा रहेको हरेक गतिबिधिबारे समाज कल्याण परिषदका प्रतिनिधिहरुले अनुगमन गरेका हुन ।
सो क्रममा निर्माण भएको भौतिक पुर्वाधारहरुको दिगोपनाका लागि छलफल गरियो ।
समाज कल्याण परिषदका प्रतिनिधि खगनाथ रेग्मी र दिपेश खनालद्धयले परियोजना सकिएपश्चात पनि भएका कुराहरुको दिगोपनाका लागि संस्थाले समन्वय तथा सहकार्यका कार्यहरुलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रतिनिधिद्धयले यसले संस्थामार्फत संचालन भएको काम तथा गतिबिधि दिगो बन्न सक्ने भएकाले परियोजना समापन पश्चात पनि दुबैतर्फबाट समन्वय सहकार्यको आवश्यकतालाई जोड दिनुभयो ।
यस परियोजनामार्फत बिद्यालयलाई थप नमूना बनाउन लैंङ्गिकमैत्री शौचालय, ह्याण्डवासिङ्ग स्टेशन, महिनावारी व्यवस्थापन कक्ष निर्माण जस्ता भौतिक बस्तुहरुको निर्माण तथा व्यवस्थापन भएको गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।
अनुगमनकै क्रममा अनुगमनकर्ताद्धयले परियोजनामा तोकिएको र समाज कल्याणले आशा गरे अनुसार फिल्डमा गतिबिधिहरु भएको भेटिएको दुबै संस्थाहरुलाई प्रतिक्रिया दिएका छन् ।
अनुगमनमा वडा नं ११ का वडाअध्यक्ष एव बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय कुमार चौधरी, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय संयोजक मीना पराजुली, जनकराम गिरी लगायतको सहभागिता रहेको थियो ।





