
काठमाडौं । चीनले नेपाललाई अनुदान स्वरूप थप १६ लाख डोज कोभिड विरूद्धको खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिनुभयो ।
यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिड विरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिनुभयो ।
राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्री पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिड विरूद्धको खोप ल्याइसकेको पनि बताउनुभयो ।





