तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइँदै

नेपालगञ्ज । आज यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइँदैछ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ । विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ ।

Previous articleनेपालका लागि नेपाली पार्टी र बिप्लव पार्टीबीच एजेण्डामा सहमति
Next article६० थान सालको चिरान काठ बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here