
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा संचालित सिकाई परियोजना २०२१ को समिक्षा गरिएको छ । गाउँपालिका शिक्षा शाखाको समन्वयमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) द्धारा संचालित सिकाई परियोजनाको सोमबार समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममार्फत देखिएको समस्या र चुनौतीको पहिचान गरिएको छ भने आगामी दिनमा परियोजनामार्फत शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल समेत गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
समिक्षा कार्यक्रममा सहभागि भएका प्रधानाध्यापक तथा कक्षा शिक्षकहरुमार्फत उपलब्धीको छलफल र समस्याका निराकरण उपाय निकालिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र खजुरा गाउँपालिकाको समन्वय सहकार्यमा खजुरामा सिकाई परियोजना संचालनमा रहेको छ ।
परियोजनाले बिद्यालयहरुमा कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामाग्री एव सन्दर्भ सामाग्री निर्माण, शैक्षिक तालिम, फुलवारी निर्माण, कक्षा शिक्षण व्यवस्थापन जस्ता कार्यहरु गर्दै आएको छ । समिक्षा कार्यक्रममा परियोजना संचालन भएको जनता नमूना माध्यमिक बिद्यालय सन्तकुटी, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बसन्तापुर, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय जलपोखरी र अम्बेमाता आधारभूत बिद्यालयका प्रधानाध्यापक तथा कक्षा शिक्षकको सहभागीता रहेको परियोजना सुपरभाईजर रज्जल बागवानले बताउनुभयो ।





