
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन टोलटोलमा अभिभावकसंग अभिमुखिकरण गरिएको छ ।
बिद्यालयमा हुने अध्यापनले मात्रै बालबालिकाहरुको शैक्षिक सिकाई दिगो नहुने हुनाले घरघरमा समेत उनीहरुका लागि सिकाई कुना निर्माण गर्नुपर्ने र अध्ययनका लागि अभिभावकले वातावरण तयार गर्नुपर्ने उद्देश्यका साथ खजुराका बिभिन्न टोलहरुमा अभिभावकसंग अभिमुखिकरण गरिएको हो ।
बिद्यार्थीहरुलाई घरमा समेत अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्छ । यसले बिद्यार्थीलाई अध्ययनमा ठुलो सहयोग पुर्याउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । जबसम्म बालबालिकाहरु आफ्नो घरमा समेत पढ्ने बानीको बिकास गर्दैनन, तबसम्म बिद्यालयको अध्ययनले प्रयाप्त नहुने शिक्षकहरु बताउँछन् ।
जसरी ठुला कक्षामा अध्ययन गर्ने बिद्यार्थीहरु क्यामपस, कलेज बाहेकको समयमा पढ्नका लागि घरमा वा कोठामा सिकाई कुनाको निर्माण गर्छन । जहाँ उनीहरु सधैजसो पढ्नका लागि मात्र बस्छन् । त्यस्तो कुनाको व्यवस्थापन साना कक्षाका बिद्यार्थीका लागि पनि एकदमै महत्वपूर्ण रहेको शिक्षकहरुको भनाई छ ।
प्लानको इन्टरनेशनल नेपालको सहयोग तथा खजुरा गाउँपालिका शिक्षा शाखाको समन्वयमा स्याक नेपालद्धारा संचालनमा रहेको सिकाई परियोजनाले यो कुरालाई मुख्यतया सुधार गर्न बिद्यालयहरुमा गतिबिधिहरु समेत संचालन गर्दै आएको छ ।
परियोजना संचालित ४ वडा बिद्यालयको सेवा क्षेत्रभित्रका पाँच पाँच वटा टोलहरु बिद्यार्थीका अभिभावकहरुसंग सिकाई कुनाको आवश्यकताको बारेमा अभिमुखिकरण गरिएको हो । बिद्यालय सेवा क्षेत्रभित्र सम्बन्धित बिद्यालयका प्रधानाध्यापकले नै टोल टोलमा पुगेर प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुको अभिभावकलाई बुझाउने प्रयास गरेका हुन ।
यस क्रममा धेरै अभिभावकले सिकाई कुना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको परियोजनाका सुपरभाईजर रज्जब बागवानले जानकारी दिनुभयो । परियोजनाले बिद्यालयहरुमा कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामाग्री एव सन्दर्भ सामाग्री निर्माण, शैक्षिक तालिम, फुलवारी निर्माण, कक्षा शिक्षण व्यवस्थापन जस्ता कार्यहरु गर्दै आएको छ ।
खजुराको जनता नमूना माध्यमिक बिद्यालय सन्तकुटी, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बसन्तापुर, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय जलपोखरी र अम्बेमाता आधारभूत बिद्यालयमा सिकाई परियोजना संचालनमा रहेको छ ।





