
नेपालगञ्ज । कोरोना बिरुद्धको खोप लगाए/नलगाएको बारेमा नेपालगञ्जको वडा नं १४ मा घरदैलो गरिएको छ । नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्र्तगत बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ को भाटनपुर र बाबुगाउँमा दुई दिन घरदैलो गरिएको हो ।
कोरोना भाइरस बिरुद्धको खोप कार्यक्रममा सहभागि भएका÷नभएका व्यक्तिहरुको पहिचान गर्न घरदैलो कार्यक्रम गरिएको जनाइएको छ । घरदैलोका क्रममा कोरोना बिरुद्धको खोप लगाएका र नलगाएका घरदुरीमा स्टीकर समेत टाँस गरिएको छ । सो क्रममा थुप्रै घरका व्यक्तिहरुले अझैपनि कोरोना बिरुद्धको खोप नलगाएको पाइएको छ ।
उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले गरेको घरदैलोबाट स्वास्थ्य संस्था वा लगाउनैपर्ने संस्थामा काम गर्ने व्यक्तिले मात्रै खोप लगाएको र अन्यले नलगाएको देखिएको परियोजना सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।
सो वडाको दुई वटा गाउँका १६४ घरधुरीमा घरदैलो गरिएको र सोही क्रममा तीन किसिमको स्टीकर टाँस गरिएको हो । धेरैजसो घरधुरी अर्थात कोरोना बिरुद्धको खोप नलगाएको घरमा रातो स्टीकरण टाँस गरिएको छ, भने परिवारका सदस्यहरुमध्ये कमैले मात्र खोप लगाएको घरमा पहेलो स्टीकर टाँस गरिएको छ ।
घरदैलोको क्रममा २० वटा घरधुरीमा मात्रै हरियो स्टीकर टाँस गरिएको छ । ११६ घरधुरीमा पहेंलो स्टीकर टाँस गरिएको छ भने २८ घरमा रातो स्टीकर टाँस गरिएको परियोजना सिनियर फिल्ड अफिसर यादवले बताउनुभयो । नेपाल सरकारको मापदण्ड अनुसार खोप लगाउन मिल्ने उमेर समूह अन्तर्गत परिवारका लक्षित सबैले खोप लगाएको घरधुरीमा हरियो स्टीकर टाँस गरिएको छ ।
कोरोना बिरुद्धको खोप अभियानबारे जनचेतना जगाउने उद्देश्यले गरिएको घरदैलो कार्यक्रमा वडा नं १४ का वडा सदस्य ऋषिराम बर्मा, दुई जना स्वास्थ्य स्वयंसेविका, नगरस्तरीय किशोरी संजालकी अध्यक्ष निलिशा गिरी, बाल क्लब संजालकी अध्यक्ष मेनुका रावत, वडास्तरीय युवा क्लबका अंकित मिश्राा, अन्जना चतुर्वेदी, स्थानीय मोटिभेटर बन्धना सोनी लगायतको सहभागीता रहेको थियो ।





