कांग्रेस बाँके सभापति पदमा उठ्ने पूर्व सभासद बादशाह कुर्मीको घोषणा

नेपालगन्ज । नेपाली कांग्रेसका नेता एवम् पुर्व सभासद बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

नेता कुर्मीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गर्नुभएको हो ।

उहाँ शुक्रबार नै बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधी (खुल्ला) मा निर्वाचित हुनुभएको छ । कांग्रेसको जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य र कम्तिमा १० वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने ब्यवस्था छ ।

सभापति पदका लागि आफु संस्थापन पक्षबाट सर्वसम्मत रुपमा उम्मेदवार बन्ने ठोकुवा गर्नुभयो । ‘कांग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा कांग्रेसलाई जिताउन मैले नेतृत्व गर्नेछु, यस पटक पार्टीको जिल्ला निर्वाचनमा हाम्रो टिम (संस्थापन पक्ष) बाट एक जना मात्र उम्मेदवार हुन्छ, त्यो उम्मेदवार भनेको म नै हो,’ उहाँले भन्नुभयो ।

आफु पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट सभापतिमा लड्न लागेको बताउनुभयो । संस्थापन इतर पक्षबाट पनि कोही साथीहरु उम्मेदवार बन्नु हुन्छ होला, त्यो उहाँहरुको कुरा हो,’ कुर्मीले भन्नुभयो ‘हाम्रो टिमबाट सभापतिको उम्मेदवारका सन्दर्भमा विवाद छैन ।’

पार्टीमा लामो समयदेखी राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालिन संविधान सभामा समानुपातिक सभासद हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उहाँ तत्कालिन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित हुनुभएको थियो ।

Previous articleसबै अट्ने पार्टी हो जसपा : पूर्व प्रधानमन्त्री भट्टराई
Next articleनेपालगञ्जलाई बाल विवाह मुक्त बनाउन कडाई गर्नुपर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here