
नेपालगञ्ज । जनताको घरदैलोमा पुगेका बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह समक्ष वडा नं ६ स्थित नमूना युवा क्लबका पदाधिकारीले आफ्ना मागहरु राखेका छन् ।
बुधबार वडा नं ६ मा पुग्नुभएका गाउँपालिका अध्यक्ष लगायतको टालीसंग क्लबका पदाधिकारीहरुले आफ्नो गुनासा तथा गरिनुपर्ने कामहरु बारे जानकारी गराएका छन् ।
क्लबका सदस्य दौलत बैजालीका अनुसार युवाहरुले प्रयोग गर्दै आएको एक मात्र खेल मैदान र सन्तानेश्वर महादेवको मन्दिर जाने क्षेत्रलाई व्यवस्थित गर्न प्रमुख रुपमा माग राखेका छन् ।
नरैनापुर गाउँपालिकाको प्रवेशद्धारमै रहेको खेल मैदानलाई तारवार गरेर त्यसलाई खेल्न लायक बनाई युवाहरुलाई खेलतर्फ प्रोत्साहित गर्न अनुरोध गरिएको छ । यस्तै पछिल्लो समय चर्चामा आएको सन्तानेश्वर महादेवको मन्दिर जाने तथा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाई पर्यटकिय गन्तब्यका रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका छन् ।
क्लबका पदाधिकारीले राखेको कुरापछि बोल्दै गाउँपालिका अध्यक्ष शाहले राखिएको माग पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले गाउँपालिकाले क्लबका पदाधिकारीले भन्नुपहिले नै वडा नं ६ स्थित खेलमैदान व्यवस्थित गर्ने योजना बनाएको बताउनुभयो । एकैपटकमा खेल मैदान राम्रो बनाउन नसकिएपनि खेल मैदानलाई आफुहरुले व्यवस्थित गर्ने बताउनुभयो ।
यस्तै सन्तानेश्वर मन्दिर क्षेत्रको व्यवस्थापनका लागि गाउँपालिकाले डिपिआर गरिसकेको समेत अध्यक्ष शाहले बताउनुभयो । मन्दिर क्षेत्रलाई व्यवस्थित गर्नका लागि गरिएको डिपिआर अनुसार पालिकाको मात्रै बजेटले नपुग्ने र संघीय सरकारबाट सहयोग मागका लागि पहल भइरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्षसंगै वडा नं २ का वडा अध्यक्ष महसुद अहमद शाह, जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष सूर्यलाल यादव, समाजवादी महिला संघ नरैनापुरकी सचिव जयमति बैजाली, जय किसान माबिका अध्यक्ष बृजेन्द्र कुमार यादव, जमुनी बिद्यालयका शिक्षक अफ्सर अलि मुकेरी, क्लबका सदस्य रमेश गिरी, गगन जिएम लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।





