
नेपालगन्ज । बाँकेमा अझै जिल्लामा झण्डै साढे एक लाख नागरिक कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेकाे देखिएकाे छ ।
बाँकेका ४ लाख ६ हजार १६५ जना लक्षित संख्यामध्ये १ लाख ४१ हजार ६७४ जना नागरिक खोपको पहुँच बाहिर रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका १ लाख ९७ हजार ५१७ जनाले खोपको दुबै मात्रा पूरा गरेको पनि जनाइएको छ ।
२ लाख ६४ हजार ४९१ जना नागरिकले खोपको एक डोज पुरा गरेको खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।
उहाँका अनुसार जिल्लामा हालसम्म ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने खोपको दुवै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् ।
खोप फोकल पर्सन श्रेष्ठले बाँकेमा २५ प्रतिशन नागरिकले कोरोनाको दोस्रो खोप ‘ड्रपआउट’ गरेको बताउनुभयो ।
उहाँका अनुसार बाँकेमा पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन् ।
ती व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठ वटै पालिकाहरुमा शनिवारबाहेक अन्यबारे नियमित खोप लगाउने अभियान चलिरहेको छ ।





