
नेपालगञ्ज । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका प्रहरी र प्रशासनबीच नेपालगञ्जमा बृहत छलफल गरिएको छ ।
बुधबार नेपालगञ्जमा आयोजना गरिएको छलफल कार्यक्रममा उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने कुरामा जोड दिएका छन् ।
सीमा क्षेत्रमा थुप्रै समस्याहरु अझै पनि नियन्त्रणका लागि दुबैतर्फको समन्वय र सहकार्य बढाउनुपर्ने कुरामा जोड समेत दिएका छन् ।
भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ती क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको जनाइएको छ ।
बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ती जिल्ला गरी १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
उहाँले सो समन्वय बैठकमा दुबै पक्षबाट सीमानामा हालको अवस्था र समन्वय तथा सुरक्षाका बारेमा जानकारी गराईएको बताउनुभयो ।
भारतको उत्तर प्रदेशमा हुने विधानसभाको निर्वाचनको बेला सीमानामा कडा सुरक्षा गर्नुका साथै कुनैपनि प्रकारको अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरु सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।








