स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आइ पि सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य संस्था प्रमुखहरुलाई संक्रमण रोकथाम सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एस एन भि नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण बर्दियाले स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत स्वास्थ्य संस्थाका प्रमुखहरुलाई उक्त प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको हो ।

कार्यक्रमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले सिकेका कुरा कार्यान्वयनमा आउँदा स्वास्थ्य संस्था नमूनातर्फ उन्मुख हुने धारणा राख्नुभयो ।स्वास्थ्यकर्मीको सबैभन्दा महत्वपुर्ण कार्य भनेको स्वास्थ्य र सुरक्षित भएर सेवा दिने भएकाले स्वास्थ्य संस्थालाई समेत स्वास्थ्य बनाउन तालिमले पुर्नताजगीमा सहयोग पुग्ने बताउनुभयो ।

तालिममा संक्रमण रोकथाम अन्तर्गत एच आइ भी, हेपाटाईटिस जस्ता रोगहरु सर्न नदिने उपायहरु, स्वास्थ्य औजारहरुको दुषानिवारण, सामानको सरसफाई, निर्मलीकरण, उच्च स्तरीय संक्रमण निवारण, अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने उपायबारे जानकारी प्रदान गरिएको छ ।उक्त तालिममा स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वयं सुक्षम शिक्षणको अभ्यास समेत गरेका थिए । प्रदान गरिने सेवालाई कसरी सहज र गुुणस्तरीय बनाउन सकिन्छ र सुरक्षाका उपायहरुको बारेमा सुक्ष्म कक्षा शिक्षण गरेका हुन ।

भेरी अस्पतालकी मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठले तीनै दिनसम्म सहजीकरण गर्नुभएको सो तालिममा व्यक्तिगत सुरक्षा तथा सरसफाई जस्तै हात धुने प्रक्रिया, पिपिई लगाउने र निकाल्ने प्रक्रिया, अस्पतालको वातावरण कसरी सफा तथा स्वच्छ राख्ने, अप्रेशन गर्दा छालाहरुको तयारीका बारेमा अभ्यास गरिएको थियो ।

यस्तै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा भएका समस्याबारे कार्ययोजना समेत बनाएको परियोजनाका कार्यक्रम संयोजक गफ्फार अलि शेषले जानकारी दिनुभयो ।

Previous articleडुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित
Next articleनेपाल निजामति कर्मचारी युनियन नेपालगञ्जको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here