
संयोग नेपाल
काठमाडौं । स्वतन्त्रताको पक्षमा अध्ययन, अनुसन्धान र बहस गर्दै आएको गैरसरकारी संस्था ‘फ्रिडम फोरम’ले नेपालमा सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा रहेको जनाएको छ ।
फोरमले सार्वजनिक गरेको मिडियासबन्धी ‘नेपाली मिडियामा शत्रु’ नाम दिइएको वार्षिक प्रतिवेदनमा सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा रहेको जनाएको हो ।
सन् २०२१ मा ५९ प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा ८३ सञ्चारकर्मी प्रभावित भएकोमा २९ प्रतिशत सुरक्षाकर्मी र १७ प्रतिशत सरकारी कर्मचारीबाट प्रेस स्वतन्त्रता उल्लङ्घन भएको फोरमको तथ्याङ्क छ ।
यसले लोकतान्त्रिक प्रणालीमा प्रेसको मूल्य र महत्त्वका बारेमा उनीहरूमा चेतनाको अत्यन्त आवश्यकता झल्काउने फोरमको निष्कर्ष छ । पत्रकार र सञ्चारमाध्यममाथिको दुर्व्यवहार, आक्रमण, धम्की, अवरोध र गिरफ्तारीलाई प्रेस स्वतन्त्रताको उल्लङ्घन रूपमा लिने गरिन्छ ।
२०२१ मा २० जना पत्रकारमाथि दुर्व्यवहार हुँदा २० पत्रकारमाथि नै आक्रमण भएको छ । एक पत्रकार विरुद्ध अदालतमा मुद्दा चल्दा र ७ पत्रकार पक्राउ परेका छन् ।
प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी उजुरी बागमती प्रदेशमा परेको छ । त्यहाँ २९ वटा उजुरी दर्ता हुँदा प्रदेश २ र कर्णाली प्रदेशमा ७–७, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४–४ तथा प्रदेश १ मा २ वटा मात्रै उजुरी दर्ता भएका छन् ।
प्रेस स्वतन्त्रता हननबाट प्रभावित ८३ मध्ये ४० सञ्चारकर्मी अनलाइन सञ्चारमाध्यममा आबद्ध भएको फोरमको प्रतिवेदनमा उल्लेख छ । रेडियोमा आवद्ध १६ जना र छापा मिडियासँग आवद्ध १३ जना प्रेस स्वतन्त्रता हननबाट प्रभावित भए ।
कूल पत्रकारमध्ये सबैभन्दा कम सात जना अनलाइन टेलिभिजन वा युट्यूबमा कार्यरत सञ्चारकर्मी प्रभावित भएका छन् ।
यस्तै, सञ्चारमाध्यममाथि राज्यका निकायले दमन गर्ने गरेको पनि फोरमको जनाएको छ । यसको उदाहरणको रूपमा उसले २५ मे अर्थात जेठ ११ गते ईमेजखबर डटकम र नेपालसमय डटकमका सम्पादकहरूलाई सर्वोच्च अदालतमा बोलाएर समाचारको स्रोतको खुलाउन दवाव दिएको प्रसङ्ग उल्लेख गरेको छ ।
सञ्चारमाध्यममाथिको असहिष्णु मनोवृत्तिले प्रेस स्वतन्त्रताप्रतिको सम्मानमा प्रश्न खडा गरेको र यस्ता घटनाले पत्रकारलाई अपमान मात्र नभइ संविधानमा ग्यारेन्टी गरिएको ‘पूर्ण प्रेस स्वतन्त्रता’को खिल्ली उडाइएको प्रतिवेदनको ठहर छ ।
यस्तै सर्वोच्चमा रिपोर्टिङ गर्दा पत्रकारलाई अवरोध गरिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ । त्यसैगरी, आन्दोलनको समाचार सम्प्रेषण गर्ने क्रममा सञ्चारकर्मीमाथि हमला हुने गरेको फोरमले जनाएको छ ।
यसले कम दर्जाका सुरक्षा व्यक्तिहरूलाई प्रेसको अधिकारमा अभिमुखीकरण र आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा प्रेस व्यक्तिहरूलाई भीडबाट छुट्याउन तालिमको खाँचो रहेको संकेत गर्दै उसले सुधारका लागि सुझाव दिएको छ । इमेजखबर





